१३ हजार स्कूले बालबालिकामध्ये १५५ जनामा मुटुरोग
काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका १३ हजार स्कूले बालबालिकामा गरिएको मुटु परीक्षणमा १५५ जनामा मुटुरोग देखिएको पाइएको छ।
गंगालाल हृदय रोग केन्द्रले गरेको ‘नगरपालिकाका १३ हजार बालबालिकाको मुटु अवस्था सम्बन्धी अध्ययन’ ले जन्मजात मुटुरोग भएका १४६ र नौ जनामा मुटुको बाथ रोग देखाएको हो। केन्द्रले बूढानीलकण्ठ नगरपालिकाको सरकारी तथा निजी विद्यालयका पाँचदेखि १५ वर्ष उमेर समूहका बालबालिकामा मुटुरोगका समस्या पत्ता लगाउन ‘इको’ परीक्षण गरेको थियो।
हृदय रोग केन्द्र र बूढानीलकण्ठ नगरपालिकाले सामुदायिक विद्यालयका तीन हजार ८३० र निजी विद्यालयका नौ हजार १८० जना बालबालिकामा अध्ययन गरेको थियो। केही समयअघि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको अध्ययनमा एक हजार बालबालिकामध्ये १० जनामा बाथ मुटुको रोग देखिएको थियो।
गंगालाल अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारी काठमाडौंमा थोरै मात्रामा बाथ मुटुको रोग देखिनुको कारण स्वास्थ्यको पहुँच तथा आर्थिक अवस्था राम्रो भएको हुन सक्ने बताउँछन्। उनका अनुसार, यस्तै अध्ययन मुगु र धादिङमा पनि गर्ने तयारी भइरहेको छ। “लक्षणविहीन रोग देखिएको छ। बच्चाहरूमा लक्षण नभए पनि स्क्रीनिङ गराउन कतिको आवश्यक रहेछ भन्ने यो अध्ययनले देखाएको छ,” उनले भने।
चिकित्सकका अनुसार, जन्मजात मुटुरोगको समस्या हजार जीवित जन्ममा १० जनामा देखिने गरेको छ। बाल मुटुरोग विशेषज्ञ डा. अंशु शाक्यले जन्मजात मुटुरोग देखिनुमा ९० प्रतिशत कारणविहीन रहेको बताइन्। यो समस्या गर्भावस्था, वंशाणुगत र अन्य कारणले देखिने सक्ने उनको भनाइ छ। उनले भनिन्, “बच्चाको मुटु एक महीनामै बनिसकेको हुन्छ। त्यसैले गर्भावस्थाको १८ देखि २४ हप्ताको बीचमा बच्चाको मुटु परीक्षण गर्न आवश्यक छ।”
अर्का बाल मुटुरोग विशेषज्ञ डा. मनीष श्रेष्ठले बच्चामा मुटुको समस्या छ कि छैन भन्ने जाँचपड्ताल नै आवश्यक रहेको बताए। उनका अनुसार‚ कोही बच्चाको मुटुमा भएको सानो प्वालले असर नगर्न सक्छ। “सबै समस्या जटिल पनि हुँदैनन्, रोग अनुसार सर्जरीको आवश्यकता पर्न सक्छ,” उनी भन्छन्।