राष्ट्रिय स्वतन्त्र पार्टी खारेजको माग गर्दै निर्वाचन आयोगमा निवेदन
राष्ट्रिय स्वतन्त्र पार्टी खारेजको माग गर्दै युवराज सफलले निर्वाचन आयोगमा निवेदन दिएका छन्।
आयोगका सचिवलाई सम्बोधन गरी सफलले आइतबार दिएको निवेदनमा स्वतन्त्र पार्टी कानूनी रुपमा अवैधानिक तथा अयोग्य रहेको जिकिर गरेका छन्।
उनले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया अवलम्बन नगरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। जसमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो।
त्यसलाई आधार बनाएर उनले स्वतन्त्र पार्टी विरुद्ध निर्वाचन आयोगमा निवेदन दिएका हुन्। स्वतन्त्र पार्टी दर्ता हुनका लागि पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पूरा नगरेको जिकिर गरेका छन्।
आयोगले उनको निवेदन दर्ता गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी गत असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको थियो।