स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न सक्दैनन्: झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमा राख्न नसक्ने बताएका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति नै हुनुपर्ने जिकिर गरे। पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, “स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न सक्दैनन्।”
संविधानले परिकल्पना गरेको मापदण्डमा आधारित भएर राम्रो राजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाएमा राष्ट्रिय सहमति कायम हुनसक्ने बताए। एकीकृत समाजवादीका विषयमा सोधिएको प्रश्नमा खनालले राष्ट्रपति पदमा पार्टीले उम्मेदवार दिने सम्बन्धमा नसोचेको बताए।
त्यस्तै, एकीकृत समाजवादी वर्तमान सरकारमा सहभागी नहुने उनको भनाइ थियो। बरु समाजवाद पक्षधरका शक्ति एकताबद्ध भएर मोर्चा निर्माण गर्ने विषयमा छलफल भइरहेको बताए।