सत्तारूढ गठबन्धनलाई जसरी पनि बचाउनुपर्छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ गठबन्धनलाई जसरी पनि बचाउनुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकबाट बाहिरने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री दाहालले सत्तारूढ गठबन्धनको एकता जोगाउन प्रयास गर्ने बताएका हुन्। दाहालले भने, “राष्ट्रिय सहमति नै गरौं भनिराखेको छु भने त हाम्रो सत्ता साझेदारबीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ। रास्वपाका सभापति रवि लामिछानेले सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन यथावत् रहने बताएका छन्।
यस विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्री दाहालले रास्वपा सभापति लामिछानेसँग कुराकानी गर्ने बताए। “अदालतको निर्णयपछि पक्कै पनि उहाँहरूलाई केही असहज त भएकै थियो। अब उहाँसँग फेरि भेटेर कुरा गर्छु,” दाहालले भने।