आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठले दिए निर्वाचन आयोगमा निवेदन
आफूलाई प्रतिनिधि सभा सदस्यमा स्वतः निर्वाचित भएको घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा निवेदन दिएका छन्।
आइतबार निर्वाचन आयोग पुगेर श्रेष्ठले निवेदन दिएका हुन्। उनी मंसीर ४ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन-२ बाट रवि लामिछानेसँग पराजित भएका थिए।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएका कारण सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको छ। उनी नेपाली नागरिकता नलिएका कारण प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन अयोग्य रहेको सर्वोच्चको ठहर थियो।
त्यसैलाई आधार बनाएर श्रेष्ठले निर्वाचन आयोगमा निवेदन दिएका हुन्। लामिछाने उम्मेदवार हुन अयोग्य रहेको सर्वोच्चले ठहर गरिसकेकाले अब आफूलाई स्वतः प्रतिनिधि सभा सदस्य निर्वाचित भएको घोषणा गर्नुपर्ने श्रेष्ठले माग गरेका छन्।
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले ४९ हजार तीन सय मत पाएका थिए। दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए।
त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार कृष्णभक्त श्रेष्ठले १४ हजार ६५२, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन अधिकारीले ९५५, मंगोल नेशनल अर्गनाइजेशनका टेकबहादुर तामाङले २७७ र हाम्रो नेपाली पार्टीका अमृत तामाङले १४९ मत पाएका थिए।