कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउने
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसले सत्तारूढ गठबन्धनको उम्मेदवारलाई सघाउने भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको संसदीय दलको कार्यसमितिको बैठकले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताए। “संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ,” लेखकले भने।
यसअघि कांग्रेस संसदीय दलको बैठकले राष्ट्रिय सभाको उपाध्यक्षका लागि उम्मेदवारी दिने निर्णय गरेको थियो। अन्य दलहरूसँगको छलफलमा पनि उम्मेदवारी नदिने निर्णय गरिएको लेखकको भनाइ छ।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुँदै छ। उपाध्यक्षमा सत्तारूढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)ले उर्मिला अर्याललाई उम्मेदवार बनाउने भएको छ।
माओवादी उम्मेदवारलाई सघाउन कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको हो त भन्ने प्रश्नमा सचेतक लेखकले भने, “सबै कोणबाट छलफल गरेर उम्मेदवारी नदिने निर्णयमा पुगेका हौं।”
यसअघि माघ २१ गते कांग्रेस सभापति देउवाले विपक्षी दलका नेताहरूसँग पनि छलफल गरेका थिए। छलफलमा सहभागी नेपका (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले पनि माओवादी उम्मेदवारलाई सघाउँदा उपयुक्त हुने सुझाव दिएका थिए।