राष्ट्र ब्यांकका पहिलो गभर्नर राणाको निधन
नेपाल राष्ट्र ब्यांकका पहिलो गभर्नर हिमालयशमशेर राणाको निधन भएको छ।
थापाथलीस्थित नर्भिक अस्पतालमा राणाको उपचारका क्रममा आइतबार बिहान निधन भएको हो। ९५ वर्षीय राणाको निमोनियाका कारण निधन भएको उनका ज्वाइँ सुनीलबहादुर थापाले हिमालखबरलाई जानकारी दिए। उनको आजै ११ बजे आर्यघाटमा अन्त्येष्टि गरिनेछ।
लामो समयदेखि श्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि अस्पताल भर्ना भएका थिए। उनका दुई छोरा र दुई छोरी छन्।
२९ वर्षमै गभर्नर
राणा २००७ सालमा अर्थ मन्त्रालयको सचिव पनि भएका थिए। उनी अर्थ सचिव भएकै वेला भन्सारलाई आधुनिकीकरण गर्ने तथा सरकारी खर्चको पारदर्शिताका लागि महालेखा परीक्षक कार्यालय गठन गर्ने काम अघि बढेको थियो। यस्तै‚ सरकारको आम्दानी र खर्चको पारदर्शिताका लागि बजेट सार्वजनिकीकरणको अभ्यास शुरू भएको थियो।
भारतीय मुद्रालाई विस्थापित गरी नेपाली मुद्राको चलनचल्तीलाई बढाएको जस पनि राणालाई जान्छ। तत्कालीन राजा महेन्द्रले २०१३ सालमा भारतीय मुद्रालाई विस्थापित गरी नेपाली मुद्रालाई चलनचल्तीमा ल्याउने उद्देश्य सहित नेपाल राष्ट्र ब्यांक स्थापना गरेका थिए। त्यसअघि नेपाल (खासगरी तराई क्षेत्र)मा भारतीय मुद्रा नेपाली मुद्रा सरह चलनचल्तीमा थियो।
राजा महेन्द्रले पत्याएका राणा २९ वर्षको उमेरमै राष्ट्र ब्यांकको पहिलो गभर्नर नियुक्त भएपछि नेपाली मुद्राको चलनचल्ती विस्तार भएको थियो। देशभर नेपाली मुद्रा चलनचल्तीमा आएपछि त्यसले देशभित्रका नेपालीलाई राष्ट्रियताको भावनाले एकआपसमा जोडेको राणाले केही वर्ष अगाडिको सार्वजनिक कार्यक्रममा बताएका थिए।
राष्ट्र ब्यांक स्थापना भइसक्दा पनि नेपाली रुपैयाँको भारूसँगको सटही दर तोकिएको थिएन। त्यति वेलाको व्यापारको केन्द्र इन्द्रचोकका व्यापारीहरूले नेपाली मुद्राको भारूसँगको सटही दर निर्धारण गर्ने गरेका थिए। तत्कालीन गभर्नर राणाले देशभरि भारूको कारोबारको अध्ययन गरेर दुई देशका मुद्राको सटही दर प्रणाली स्थापित गरेका थिए। अहिले पनि सोही सटही दर प्रणाली कायम छ। विभिन्न समयमा नेपाली मुद्राको भारूसँगको सटही दर परिवर्तन भए पनि पछिल्लो तीन दशकयता भने १०० रुपैयाँ भारु बराबर १६० नेरुको दर कायम छ।
राणा पछिल्लो समयमा भने नेपाली मुद्राको भारूसँगको सटही दर पुनरावलोकनको पक्षमा थिए। उनले आर्थिक अवस्था, व्यापार, माग र आपूर्ति फरक भइसकेको भन्दै सटही दर पुनरावलोकन गर्नुपर्ने बताउने गरेका थिए।
राणा गभर्नरबाट निवृत्त भएपछि संयुक्त राष्ट्रसंघमा काम गर्न विभिन्न देशमा पुगेका थिए। बियर उत्पादक गोर्खा ब्रुअरी पनि उनकै पहलमा शुरू भएको हो। पछि उनकै पहलमा हिमालयन ब्यांक स्थापना भएको थियो।
उनी राणा प्रधानमन्त्री देवशमशेरका खलकका हुन्। उनका छोरा अशोकशमशेर राणा हिमालयन ब्यांकका प्रमुख कार्यकारी अधिकृत छन्।