सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय फिर्ता लिनुपर्छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय फिर्ता लिनुपर्ने बताएका छन्।
शुक्रबार सामाजिक सञ्जाल मार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै महामन्त्री थापाले यस विषयमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसँग पनि कुरा गरेको उल्लेख गरेका छन्।
थापाले भनेका छन्, “एक साताअघि नै यो प्रसङ्ग आउनासाथ क्यानका अध्यक्ष (जो नेपाली कांग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ)लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ। उहाँले यस खालको निर्णय नगर्ने बताउनुभएको थियो। तर, त्यसो हुन सकेन।”
बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन नहुने थापाको भनाइ छ। उनले भनेका छन्, “बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको वेला क्यानले हतारोमा गरेको निर्णय गलत छ, तत्काल फिर्ता लिनुपर्छ।”
माघ १८ गते पोखरामा सम्पन्न क्यानको बोर्ड बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो। निलम्बन फुकुवा भएसँगै उनलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी गराइएको छ।