रास्वपाले दियो दुई दिने ‘अल्टिमेटम’, तत्काल सरकार नछाड्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल सरकार नछाड्ने भएको छ।
काठमाडौं माघ १९ गते साँझ बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले कम्तीमा दुई दिन सरकार नछाड्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको आग्रह अनुसार दुई दिन समय दिने निर्णय गरेको ढकालले जानकारी दिए।
संयुक्त बैठक बस्नुअघि रास्वपा सभापति रवि लामिछानेलाई दाहाल र ओलीले फोन गरेका थिए। उनीहरू दुवैले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि मात्र निर्णय गर्न आग्रह गरेको ढकालको भनाइ छ।
सर्वोच्च अदालतले नागरिकता विवादमा रास्वपाका सभापति लामिछानेको सांसद पद खारेज गरिदिएपछि उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको थियो। त्यसपछि रास्वपाले पुनः आफ्नै पार्टीले गृहमन्त्री पद पाउनुपर्ने माग गर्दै आएको छ।