सरकारमा बस्ने कि नबस्ने आज निर्णय गर्छौं: मुकुल ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा बस्ने कि नबस्ने भन्ने विषयमा निर्णय गर्न केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।
स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका हुन्। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा आज अपराह्न ३ बजे संयुक्त बैठक बस्न लागेको प्रवक्ता डा. मुकुल ढकालले बताए।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न संयुक्त बैठक बोलाइएको प्रवक्ता डा. ढकालले बताए। “सरकारमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्छौं,” उनले हिमालखबरसँग भने, “अब अलमलमा बस्दैनौं, महत्त्वपूर्ण निर्णय गर्छौं।”
सर्वोच्च अदालतको फैसलापछि लामिछानेले प्रतिनिधि सभा सदस्यसँगै उपप्रधानमन्त्री र गृहमन्त्री पनि गुमाएका थिए। उनले माघ १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट फेरि नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।
त्यसपछि सभापति नियुक्त लामिछानेले गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका थिए। तर, प्रधानमन्त्री दाहालले सर्वोच्चको फैसलाको पूर्ण पाठ नआउँदासम्म कसैलाई पनि गृहमन्त्री नियुक्त नगर्ने बताएका थिए।
त्यसपछि अलमलमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने धम्की दिंदै आएको थियो। आजको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट त्यस विषयमा निर्णय गर्न लागिएको प्रवक्ता डा. ढकालको भनाइ छ।