टुकुचा उत्खनन नगर्न उच्च अदालतको आदेश
काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रमा गरिरहेको टुकुचा उत्खनन कार्यमा उच्च अदालत पाटनले रोक लगाएको छ।
टुकुचा क्षेत्रमा उत्खनन नगर्न उच्च अदालतले आदेश दिएको अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलले बताए। न्यायाधीशद्वय महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले रिट निवेदकहरूको माग बमोजिम आदेश दिएको हो।
गत भदौमा काठमाडौं महागनरले हात्तीसार क्षेत्रमा डोजर लगाएर उत्खनन शुरू गरेको थियो। त्यस क्रममा भदौ ३० गते जय नेपाल हल परिसरमा उत्खनन गर्दा टुकुचा देखिएको थियो।
काठमाडौं महागनरले डोजर लगाएर हात्तीसार क्षेत्रमा टुकुचा उत्खनन गर्न थालेपछि स्थानीय बासिन्दा उच्च अदालत पुगेका थिए। हात्तीसार क्षेत्रमा रहेका स्थानीय र संघसंस्थाका तर्फबाट २१ वटा रिट परेका थिए।
रिटमा महानगरले डोजर लगाएर टुकुचा उत्खनन गरिरहेको उल्लेख गर्दै तत्काल रोक लगाउन आदेश माग गरिएको थियो। आज रिट निवेदकहरूको माग बमोजिम नै उच्च अदालतले आदेश दिएको हो।
अदालतको आदेशसँगै टुकुचा उत्खनन गर्न नपाइने भएको छ। रजिस्ट्रार कट्टेलले हिमालखबरसँग भने, “टुकुचा क्षेत्रमा डोजर लगाउन नपाइने आदेश भएको छ।”
आदेशको पूर्ण पाठ आउन बाँकी छ।