उच्च पहाडमा हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा र हिमपात हुने जनाएको छ।
सोमबार दिउँसो सुदूरपश्चिमका थोरै स्थान र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना छ। राति लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार देशभरका पहाडी भूभागमा मौसम बदली रहनेछ। लुम्बनी र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षा भई देशभरका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना छ।
बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मौसम बदली भई एक-दुई स्थानमा वर्षा हुने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।