काबेली करिडोर प्रसारण लाइनमा ठेकेदारको ‘नियोजित अवरोध’
ठेकेदारको गैरजिम्मेवारीका कारण निर्माणको अन्तिम चरणमा पुगेको काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको तेस्रो खण्डमा अवरोध उत्पन्न भएको छ ।
विद्युत प्राधिकरणले यसलाई आयोजना निर्माण सकिन नदिन गरिएको ‘नियोजित अवरोध’ भएको बताएको छ ।
आयोजनाको ठेकेदार कम्पनी जागुअर ओभरसिज एण्ड एस्टर जेभीको पेटी ठेकेदार पलाञ्चोक भगवती कन्स्ट्रक्सन कम्पनीले काममा लगाएका व्यक्तिहरूले निर्माण पाँच दिनदेखि अवरोध गरेका हुन् ।
भगवतीले प्रसारण लाइन निर्माणको पेटी ठेक्का लिएर स्थानीय दावा शेर्पा र कृष्ण कार्कीलाई कामको जिम्मा दिएको थियो । तर, भगवतीले काम गरेको पैसा नदिएको भन्दै उनीहरूले अन्तिम चरणमा पुगेको प्रसारण लाइन निर्माणको काम अवरुद्ध पारेका हुन् ।
प्रसारण लाइनको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्डमा पर्ने १३ किलोमीटर प्रसारण लाइनमा करीब दुई किलोमीटर मात्रै तार तान्न बाँकी छ । यो आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) खण्ड संचालनमा आइसकेको छ ।
लखनपुर गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२\३३\११ केभी सबस्टेशनको निर्माण सम्पन्न गरी संचालनमा छन् । तेस्रो खण्ड असारभित्रमा संचालनमा ल्याउने लक्ष्यका साथ प्राधिकरणले काम गरिरहेको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काबेली करिडोर प्रसारण लाइनमा जोडिने जलविद्युत आयोजनाका प्रवद्र्धकले प्रसारण लाइनको आफैं पेटी ठेक्का लिएर नियोजित रूपमा निर्माणमा ढिलाइ गरिदिएको बताएका छन् ।
“प्राधिकरणले प्रसारण लाइनको निर्माण सक्दा पनि आफ्नो जलविद्युत आयोजनाको निर्माण नसकिए जरिवाना (पेनाल्टी) तिर्नुपर्ने अवस्था आएपछि उनीहरूले नियोजित रूपमा प्रसारण लाइन निर्माण हुन नदिएको देखिन्छ”, उनले भने ।
घिसिङले बाहिर बाहिर प्राधिकरणले प्रसारण लाइन समयमा नबनाई दिंदा बिजुली खेर जाने भयो भन्दै हल्ला गर्ने तर भित्र भने आफै पेटी ठेक्का लिने पेनाल्टीबाट बच्न नियोजित रुपमा काममा अवरोध गर्ने काम भइरहेको बताए । उनले भने, “योभन्दा ठूलो अराजकता अरु के हुन्छ ?”
पलाञ्चोक भगवती कन्स्ट्रक्सन रैराङ हाइड्रोपावर डेभलपमेन्टको आयोजना निर्देशक कुवेरमणि नेपालको कम्पनी हो । रैराङले पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने इवाखोलामा ९.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको विद्युत काबेली करिडोर प्रसारण लाइनको तेस्रो खण्डको अमरपुर सबस्टेशनमा जोडिने छ । प्राधिकरणसँग भएको विद्युत खरीद बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाले विद्युत् उत्पादन गर्नु पर्ने मिति (आरसीओडी) अगामी १ साउनसम्म छ ।
प्रसारण लाइन बनिसक्दा पनि यो अवधिमा उत्पादन शुरु नभए आयोजनाले जरिवाना तिर्नुपर्छ ।
यसैगरी, अमरपुर सबस्टेशनमै ताप्लेजुङमा अरुण काबेली पावर कम्पनीले निर्माण गरिरहेको २५ मेगावाटको काबेली बी १ जलविद्युत आयोजना जोडिने छ ।
प्राधिकरणसँग पीपीए अनुसार आयोजनाको आरसीओडी गत ९ वैशाखमा हो । अरुण काबेलीको अध्यक्ष गुरुप्रसाद न्यौपाने रैराङको पनि कार्यकारी निर्देशक हुन् ।
दुवै आयोजना निर्माण तत्काल सम्पन्न भएर नजोडिने भएपछि आफैले काम लगाएका व्यक्तिहरूलाई पैसा नदिएर तार तान्न अवरोध गरेको काबेली करिडोर प्रसारण आयोजनाका प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए । उनले समस्या समाधानका लागि पहल भइरहेको उल्लेख गरे ।
पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माई लगायत खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि काबेली करिडोर निर्माण गरिएको हो । झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्नेछ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो ।
काबेली करिडोर प्रसारण लाइन निर्माण करीब १० वर्ष अघि सुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले आयोजनाको काम ढिलाइ भएको हो ।
३ करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।