अन्तर्दृष्टि पुरस्कार वितरण
वसन्त पञ्चमीको सन्दर्भ पारेर २०७९ सालको अन्तर्दृष्टि पुरस्कार वितरण गरिएको छ।
बिहीबार काठमाडौंको पृथ्वीनारायण माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा तीन जनालाई अन्तर्दृष्टि पुरस्कार प्रदान गरिएको हो। हिमालकर्मी अनिता भेटवाललाई अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार, ललितपुरको नमूना मच्छिन्द्र माध्यमिक विद्यालयकी शिक्षक मन्जु सुवेदीलाई अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार र पृथ्वीनारायण माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी दुर्गादेवी वाइबालाई अन्तर्दृष्टि हातेमालो पुरस्कार प्रदान गरिएको हो।
पत्रकारिताको माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण गरी समावेशी विकास र समतामूलक समाज निर्माणमा योगदान पुर्याए बापत भेटवाललाई अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार गरिएको जनाइएको छ।
त्यस्तै, शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच र दृष्टिकोण लगायतलाई आधार मानी विद्यार्थीले छनोट गरे अनुसार शिक्षक सुवेदीलाई अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार प्रदान गरिएको हो।
अपाङ्गता नभएका विद्यार्थीका सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदान आदिलाई आधार मानी विद्यार्थी वाइबालाई अन्तर्दृष्टि हातेमालो पुरस्कार प्रदान गरिएको पुरस्कार समितिका संरक्षक डा. कमल लामिछाने बताए। डा. लामिछानेले २०७७ सालमा स्थापना गरेको पुरस्कार हरेक वर्ष प्रदान गरिंदै आएको छ।