पढ्न विदेश जाने विद्यार्थी रोक्न नेपाल विश्वविद्यालय विधेयक ल्याइएको होः मन्त्री खनाल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले अध्ययनका लागि विदेश गइरहेका विद्यार्थीहरूलाई रोक्न नेपाल विश्वविद्यालय विधेयक ल्याइएको बताएका छन्।
मंगलबार राष्ट्रिय सभामा नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथिको छलफलमा सदस्यहरूले राखेको जिज्ञासामा मन्त्री खनालले विदेश अध्ययन गर्न जाने युवालाई स्वदेशमै राख्ने उद्देश्यले विधेयक अघि बढाइएको स्पष्टीकरण दिएका हुन्।
“एक लाख २२ हजार नेपाली विद्यार्थी विश्वका १०६ भन्दा बढी मुलुकमा अध्ययनका लागि गएको तथ्याङ्क छ,” मन्त्री खनालले भने‚ “ती युवालाई रोक्न सकिन्छ कि भन्ने हेतुले यो विश्वविद्यालय विधेयक अघि बढाइएको हो।”
मुलुकको विकास र अर्थतन्त्रलाई चलायमान बनाउन तथा विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने होस् भन्ने उद्देश्य रहेको बताउँदै उनले गुणस्तरीय शिक्षा मात्र नभई संघीयताको मर्म र भावनालाई विश्वविद्यालयले बोकेको बताए।