बीपी प्रतिष्ठानका उपकुलपतिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।
सोमबार विशेष अदालत, काठमाडौंमा उपकुलपति डा. गिरी विरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। उपकुलपति डा. गिरी विरुद्ध कीर्ते कागजात बनाएको आरोपमा मुद्दा दर्ता गरिएको हो।
अख्यितारका अनुसार, उपकुलपति डा. गिरीले आफू ‘प्रोफेसर’ भएको भन्दै प्राध्यापक पद प्रयोग गर्दै आएका थिए। तर, छानबिनका क्रममा उनले कुनै पनि विश्वविद्यालयबाट प्राध्यापक पद नपाएको देखिएको अख्तियारले जनाएको छ।
अख्यितयारले भनेको छ, ‘डा. ज्ञानेन्द्र गिरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरूले विश्वास गरोस् भनी बदनियतसाथ कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाए भनी अरूले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसूर भएकाले निज ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसूरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजाय समेतको माग दाबी लिइएको छ।’
त्यस्तै, उनले प्राध्यापक पद पाएको भन्दै कागजात बनाइदिने डा. ज्ञानेन्द्रमान सिंह कार्की विरुद्ध पनि मुद्दा दायर गरिएको छ। डा. कार्कीले प्राध्यापक पदका लागि काठमाडौं विश्वविद्यालयमा सिफारिश गर्नुपर्नेमा आफैंले नियुक्त दिएको भन्दै मतियारमा मुद्दा दायर गरिएको हो।
अख्तियारले भनेको छ, ‘डा. ज्ञानेन्द्रमान सिंह कार्कीले डा. ज्ञानेन्द्र गिरीलाई प्रोफेसर पदको अनुमोदनका लागि काठमाडौं विश्वविद्यालयमा सिफारिश गर्नसम्म सक्नेमा निजले नियुक्ति दिएको आधारमा प्रतिवादी ज्ञानेन्द्र गिरीले नपाएको ओहदा प्रयोग गरेको र उक्त कार्यमा निज ज्ञानेन्द्रमान सिंह कार्कीको मतियारको भूमिका रहेको देखिएको हुनाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसूरमा सोही ऐनको दफा २२ बमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गर्ने।’