कमलाको र्याफ्टिङ कला
पहाडी खोंच हुँदै तीव्र गतिमा बग्ने भोटेकोशीसँग पैंठेजोरी खेल्ने २३ वर्षीया कमला अहिले जापान आउजाउ गरिरहन्छिन् ।
सिन्धुपाल्चोकमा जन्मे–हुर्केकी कमला १२ वर्षकी थिइन्; जतिवेला उनले कायाकिङ, पौडी र र्याफ्टिङ सिक्ने मौका पाइन्।
घरको आर्थिक अवस्था बलियो थिएन। बुबा ज्यामी थिए, आमा रोगी। साना भाइबहिनी हुर्काउने जिम्मा उनैको थियो।
बढेको दायित्वले थिचेपछि उनको पढाइ छुट्यो।
ठीक यहीबेला संयोगले भेटिइन्, स्वीडिस युवती इन्का। तिनै इन्काले उनलाई पानीका यी सबै खेलको तालीम दिलाइन्।
इन्काकै सहयोगले इक्वेडर एक्सपीडिसनमा काम पाइन्, र्याफ्टिङ गाइडको रुपमा।
वाइल्ड र्याफ्टिङका लागि संसारकै उत्कृष्ट र साहसिक मानिने भोटेकोशीलाई आधार बनाएर काम गरेकी कमला अहिले जापानमा र्याफ्टिङ गाइडको काम गर्छिन्।
अघिल्लो वर्ष मात्र उनलाई जापानको होकाइडो आउटडोर एड्भेन्चरले र्याफ्टिङ गाइडको रुपमा निम्त्याएको थियो। “६ महीना नेपाल र ६ महीना जापानमा काम गरिरहेकी छु” कमला भन्छिन्।
कमलाले नेपालमै अन्य चार जना युवतीसँग मिलेर 'हिमालयन एड्भेन्चर गर्ल्स' स्थापना गरेकी छिन्।
ठमेलमा कार्यालय रहेको यो संस्थाले स्वदेशी तथा विदेशी पर्यटकलाई त्रिशूली, भोटेकोशीमा जलविहार गराउनेदेखि उच्च हिमाली भेगमा साहसिक पदयात्रा समेत गराइरहेको छ।