रिपोर्ट बुधबार, असार २५, २०७६

बसाइँसराइले रित्तिंदो पहाड

हिमालखबर

- टेकराज भण्डारी, अछाम

कामको खोजीमा भारतदेखि खाडी मुलुकसम्म पुग्ने सुदूरपश्चिम पहाडका बासिन्दा सहज जीवनयापन र अवसरको खोजीमा तराई झर्न थालेपछि पहाडका गाउँ पातलिएका छन्।

परिवार सबै बसाइँ सरेपछि जीर्ण साँफेबगर नगरपालिका–७ रिडिकोटस्थित कलात्मक घर ।

अछामको मंगलसेन नगरपालिका–६, तेसिंगेका खकेन्द्र भण्डारीको परिवार कैलाली झ्रेको १० वर्ष पुग्न लाग्यो । पुख्र्यौली थलो छाडेर कैलालीको लम्कीचुहा नगरपालिका–३, गुलौरामा बसाइँ सरेका खकेन्द्र स्वयं भने कैलालीमा पनि बस्न पाउँदैनन् । ६० वर्षीय उनको कर्मथलो भने भारतको लखनऊ हो । “पहाड (अछाम) को खेत बिक्री भो, घर र बारी त्यत्तिकै छ” खकेन्द्र भन्छन्, “भारतमा नोकरी गरेको कमाइले कैलालीमा घरबारी जोडें ।”

खकेन्द्रका तीन छोरामध्ये दुई जना भारतमै छन्, एक जना भने मलेशिया । उनी बसाइँ सरेपछि भाइको परिवार पनि अछामबाट कैलाली आएको छ । लम्कीचुहास्थित घरमा अहिले भाइ सहित २० जनाको परिवार बसिरहेको छ ।

तेसिंगेकै लोकराज भण्डारी (३२) अछामबाट बर्दियाको राजापुर झ्रेको तीन वर्ष पुग्यो । भारतमा नोकरी गर्ने उनले त्यहाँ कमाएको पैसाबाट राजापुरमा चारकोठे घर र पाँच कट्ठा जग्गा जोडेका छन् । आफू प्रायः भारतमै रहने लोकराजको घरमा श्रीमती, दुई छोरा र दुई छोरी बस्छन् ।

सुदूरपश्चिमका पहाडी जिल्लाको प्रमुख रोजगार गन्तव्य हो, भारत । २०–२२ वर्षका युवादेखि ६० वर्ष नाघेका पाका समेत कामको खोजीमा भारत पुग्छन् । र, केही कमाउनेहरू सकेसम्म तराईका जिल्लामै घर–जग्गा जोड्न चाहन्छन् । मंगलसेन नगरपालिका–६ बाट मात्र पछिल्लो पाँच वर्षमा १०० भन्दा बढी बसाइँ सरेको नगरपालिकाको आँकडाले देखाउँछ । नगरपालिकाबाट कतिपयले बसाइँसराइ प्रमाणपत्र नै नलिने हुँदा यो संख्या अझ् बढी भएको अनुमान सहजै गर्न सकिन्छ ।

गाउँ रित्तिंदै, जग्गाजमीन बाझैं
केन्द्रीय तथ्यांक विभागका अनुसार सुदूरपश्चिमका ४५ प्रतिशत बासिन्दा गरीबीको रेखामुनि छन् । यसको ठूलो संख्या कामको खोजीमा भारत पस्छ । तर, त्यसको आँकडा भने स्थानीय तह र प्रदेश सरकारसँग छैन ।

जीर्ण बनेको खकेन्द्रको घर र बाँझो जमीन ।

गत जेठ पहिलो साता मंगलसेन–८, वलीगाउँका मोहन परियार (३५) को भारतमा रेलबाट खसेर ज्यान गयो । जेठ पहिलो साता नै अछामकै रामारोशन–७, सुतारका परे भण्डारी (३२) ले भारतमै सर्पको टोकाइबाट ज्यान गुमाए । त्यसअघि, वैशाखमा भारतको पुनाबाट फर्कंदै गरेका अछामकै कमलबजार–७, जामाका खडकराज जैसी (५२) को रेलबाटै रु.२० हजार नगद र सम्पूर्ण सरसामान लुटिएको थियो ।

भारतमा प्रायः चौकीदारी गर्ने तथा होटल र पसलमा काम गर्नेहरूको सुरक्षा, औषधोपचार र बीमाको व्यवस्था केही हुँदैन । र पनि, गरीबीका कारण भारततर्फ लाग्ने लर्को घटेको छैन । यसरी कष्टपूर्वक काम गरेर धेरथोर कमाइ गर्ने सुदूरपश्चिम पहाडका बासिन्दा सन्तानको भविष्यका लागि सकेसम्म सुगम जिल्लामा बसाइँसराइ गर्न खोजिरहेको बताउँछन् ।

भारत मात्र होइन, पछिल्लो समय सुदूरपश्चिम पहाडबाट रोजगारीका लागि तेस्रो मुलुक जानेको संख्या पनि बढ्दो छ । उनीहरूको रोजाइ पनि तराईमै बसाइँ सर्ने छ । चार वर्षदेखि कतारमा कार्यरत मंगलसेन–७ का तुलाराम काफ्ले (२७) ले पनि लम्कीचुहा नगरपालिका–३, गुलौरामा ६ कोठे पक्की घर र जग्गा जोडेका छन् । अबको केही महीनापछि कतारबाट फर्कने र सपरिवार कैलालीमै बसाइँ सर्ने उनको योजना छ ।

लोकराज भण्डारी ।

मंगलसेन–६, ठुलासेनस्थित मालिका आधारभूत विद्यालयमा चार वर्ष निजी स्रोतमा पढाएपछि डेढ वर्षअघि दक्षिणकोरिया गएका चन्द्रदेव भण्डारी (२७) को पनि फर्केपछि कैलालीमै बसाइँ सर्ने लक्ष्य छ । “अब विस्तारै बसाइँ सर्ने हो, छोरोले घर नछाउनु भनेको छ” बुबा गंगारामले भने । चन्द्रदेवले कक्षा ४ र २ मा पढ्ने दुई छोरालाई धनगढीकै आवासीय विद्यालयमा भर्ना गरिसकेका छन् ।

यो बसाइँसराइले पहाडका जग्गाजमीन बाझैं रहने अवस्था निम्त्याएको छ । अछामबाट बर्दिया झ्रेका लोकराज भण्डारी कसैले किन्न नखोज्ने र खेती लगाउने मान्छे पनि नपाइने हुँदा पहाडको खेतबारी बाझैं रहेको बताउँछन् । अछामको मंगलसेन नगरपालिका–४ का वडाध्यक्ष पदम धामी भन्छन्, “यहाँका धेरैजसो कर्मचारी बसाइँ सरेर गइसके, वैदेशिक रोजगारमा गएकाहरू पनि फर्केपछि बसाइँ सर्न थालेपछि गाउँ रित्तिंदैछन् । जग्गाजमीन बाँझे रहन थालेको छ ।”

जिल्ला कृषि ज्ञान केन्द्रको आँकडाले यसको डरलाग्दो तस्वीर देखाउँछ । केन्द्रका अनुसार अछामको खेतीयोग्य (५६ हजार ४४७ हेक्टर) जमीनमध्ये करीब ३५ प्रतिशत बाँझे छ । जिल्लामा खाद्यान्न उत्पादन निरन्तर घट्दो छ । केन्द्रका निमित्त प्रमुख जनकराज बोहरा जमीन बाँझाे रहनुलाई उत्पादन घट्नुको प्रमुख कारण मान्छन् ।

यसको असर कतिसम्म परेको छ भने अछामको साविक जनालीवण्डाली गाविस–३, सिराडी टोलमा दुई वर्षमुनिका तीन जना मात्र बालबालिका रहेको महिला स्वयंसेविका तारादेवी भण्डारी बताउँछिन् ।

बसाइँसराइ रोक्ने पहल

बसाइँसराइ आफैंमा नराम्रो होइन । मूलतः सहज जीवनयापन र अन्य आर्थिक अवसरले जोकोहीलाई यसमा आकर्षित गर्छ । तर, कतै गाउँ नै रित्तिने अवस्था आउनु, कतै भने अचाक्ली चाप बढ्नु चाहिं जनसंख्याको सन्तुलित वितरण र विकासका लागि समेत चुनौती हो । पहाडमा बाँझाे जमीन बढ्दै जानुले त्यो चुनौती सतहमै ल्याइदिएको छ ।

सरकारले जमीन बाँझे राख्नेलाई रु.३ लाखसम्म जरिवाना गर्ने गरी भूउपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गरेको छ । अछामको साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवर कानून बनेमा यसको कार्यान्वयनका लागि नगरपालिका पनि अग्रसर हुने बताउँछन् ।

साँफेबगरमा अहिले नयाँ शहर आयोजनाको काम भइरहेको छ । मध्यपहाडी लोकमार्गमा दश वटा शहर बसाउने योजना अन्तर्गत साँफेबगरलाई ‘मेगासिटी’ बनाउन लागिएको हो । मेयर कुँवर भन्छन्, “यसको उद्देश्य बसाइँसराइ रोक्नु पनि हो ।”

सुदूरपश्चिम प्रदेश सरकारले पनि गाउँको जमीन बाँझे नराख्न र युवालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउन विभिन्न कार्यक्रम शुरू गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झ्पट बोहरा बताउँछन् । “बसाइँसराइले पहाड खाली हुँदैछ, यो देशकै लागि राम्रो होइन” बोहरा भन्छन्, “गाउँको विकास गरेर गाउँमै बस्न मिल्ने वातावरण बनाउन प्रदेश सरकारले योजना बनाउँदैछ ।” 

प्रतिकृया दिनुहोस