बाँकेमा दादुरा संक्रमितको सङ्ख्या १५६ पुग्यो
बाँकेमा शुक्रबार थप २६ जना बालबालिकामा दादुरा संक्रमण देखिएको छ। योसँगै दादुरा संक्रमित हुनेको सङ्ख्या १५६ पुगेको छ।
दादुरा संक्रमण देखिएकामध्ये ४९ जना उपचाररत छन्। अन्य १०७ जनाको संक्रमण निको भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
नेपालगञ्ज उपमहानगरपालिकामा गत पुष १२ गते दादुरा ‘आउटब्रेक’ भएको थियो। दादुरा विरुद्धको नियमित खोप छुटेकालाई संक्रमण देखिएको हो। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठ दादुरा ‘आउटब्रेक’ भएयता खोप वितरण काम प्रभावकारी रुपमा भइरहेको बताउँछन्।
बाँकेमा खोप लगाउने लक्षित जनसङख्या १८ हजार ३९० छ। जसमध्ये १२ हजार ८४५ लाई खोप लगाइसकिएको छ। करीब पाँच हजार ५४५ जनालाई खोप लगाउन बाँकी छ।
दादुरा नियन्त्रण गर्दै प्रकोप तथा त्यसबाट हुने मृत्युको रोकथामका लागि ‘एमसीभी-१’ र ‘एमसीभी-२’ नामक खोप देशको कुल जनसंख्याको ९५ प्रतिशतलाई लगाउनु पर्छ भने राष्ट्रिय तथा स्थानीय रूपमै सो दर कायम गर्नुपर्छ। विश्वव्यापी रूपमै एमसीभी खोप लगाउने जनसंख्या विगत एक दशकदेखि ८४ देखि ८५ प्रतिशतको बीचमा रहेको छ। त्यस्तै, ‘एमसीभी-२’ लगाउनेको संख्या हालसम्म ७१ प्रतिशत मात्रै पुगेको छ।
आर्थिक वर्ष २०७६/७७ मा दादुरा-रुबेला विरुद्धको खोपको पहिलो मात्रा लिने बालबालिकाको खोप कभरेज दर ७०.७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै‚ आर्थिक वर्ष २०७७/७८ उक्त दर ८०/९ प्रतिशतमा पुग्यो।
आर्थिक वर्ष २०७८/७९ मा यो कभरेज दर ९२.८ प्रतिशत पुग्यो। तर‚ लुम्बिनी, गण्डकी र बागमती प्रदेश बाहेक अन्य प्रदेशमा खोप कभरेज दर ८५ प्रतिशत हाराहारी छ। यो तथ्यांकले धेरै बालबालिकाकाले नियमित खोप छुटाइरहेको देखाउँछ।