प्रतिपक्षकाे विरोधका बीच चार विधेयक पारित
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदको विरोधका बीच बसेको प्रतिनिधिसभाको बुधबारको बैठकमा चार विधेयक पारित भएको छ ।
अपराह्न १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक डेढ घण्टापछि २ः३० बजे मात्र शुरु भएको थियो । सभामुख कृष्णबहादुर महराले बैठकको कारबाही शुरु गर्ने बित्तिकै दुवै दलका सांसदले उठेर विरोध जनाएका थिए।
बैठक सुरु भएलगत्तै सिटबाट उठेका कांग्रेस र राजपा सांसदलाई सभामुख महराले बोल्न समय दिएनन् । उनले ‘माननीय सदस्यहरुले आफ्नो कुरा हिजो नै राख्नुभयो’ भन्दै बोल्न समय दिएनन् ।
सभामुख महराले पटकपटक बस्न अनुरोध गरे पनि सांसद नबसेपछि बैठकको कारबाही शुरु भएको थियो ।
विरोधमा उत्रिएका सांसदले भने वेल घेराउ गर्दै ‘मानव अधिकारको रक्षा गर’ भन्ने नारा लगाएका थिए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीमा प्रहरीसँगको भिडन्तमा मारिएका भनिएका विप्लव समूहका नेता कुमार पौडेलको मृत्युबारे छानबिन गर्न संसदीय समितिको माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका हुन्।
सर्लाही घटनाका विषयमा मङ्गलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेपछि विरोध हुँदै आएको छ।
विरोधका बीच भएको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भई राष्ट्रियसभामा गएका ‘विनियोजन विधेयक, २०७६’, ‘आर्थिक विधेयक, २०७६’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६’ र ‘ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७६’ राष्ट्रियसभाबाट पारित भएको छ।