पोर्चुगललाई हराउँदै मोरोक्को सेमिफाइनलमा प्रवेश
पोर्चुगललाई पराजित गर्दै मोरोक्को फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
कतारको अल थुमाम रंगशालामा शनिबार राति भएको खेलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै मोरोक्को सेमिफाइनलमा प्रवेश गरेको हो। मोरोक्कोका लागि पहिलो हाफको ४२औं मिनेटमा युसेफ इन नेसिरीले गोल गरेका हुन्।
पहिलो हाफमा बेन्चमै रहेका पोर्चुगल स्टार क्रिस्टियानो रोनाल्डो दोस्रो हाफमा मैदानमा उत्रिएका थिए। दोस्रो हाफमा पोर्चुगलले मोरोक्कोलाई दबाबमा राखे पनि गोल गर्न सकेन। दोस्रो हाफको अन्तिमतिर केही अवसर पाए पनि गोलमा परिणत गर्न नसक्दा पोर्चुगल विश्वकपबाट बाहिरिएको छ।
यो जितसँगै मोरोक्कोले इतिहास बनाएको छ। मोरोक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ।
यसअघि सन् १९९० मा क्यामरुन, सन् २००२ मा सेनेगल र सन् २०१० मा घाना क्वार्टर फाइनलमा पुगेका थिए। तर, तीनै टोली क्वार्टर फाइनलबाट बाहिरिएका थिए।
आजको खेलमा पोर्चुगलकै दबदबा रहेको थियो। खेलमा ७४ प्रतिशत बल पोर्चुगलकै नियन्त्रणमा रहेको थियो।
त्यस्तै, पोर्चुगलले ६६३ पास खेलेको थियो भने मोरोक्कोले २४८ पास खेलेको थिए। मोरोक्कोले नौ पटक प्रहार गरेको थियो भने
पोर्चुगलले १२ पटक गोलका प्रहार गरेको थियो। यससँगै मोरोक्कोले तीन पटक कर्नर प्रहार गरेको थियो भने पोर्चुगलले नौ पटक प्रहार गरेको थियो।
दोस्रो हाफको इन्जुरी समयतिर मोरोक्कोका वालिद चेदिराले रातो कार्ड पाएका थिए। इन्जुरी समयको पाँच मिनेट बाँकी छँदा दश खेलाडीमै सीमित रहेको मोरोक्कोले पोर्चुगलका थुप्रै प्रयासलाई असफल बनाएको थियो।
यसअघि मंसीर २३ गते भएका खेलमा क्रोएशिया र अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। क्रोएशियाले ब्राजिललाई र अर्जेन्टिनाले नेदरल्यान्डस्लाई पराजित गरेको थियो।