ब्राजिललाई पेनाल्टीमा हराउँदै क्रोएशिया सेमिफाइनलमा
ब्राजिललाई 'पेनाल्टी सुट आउट'मा हराउँदै क्रोएशिया फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
कतारको एजुकेशन सिटी रंगशालामा भएको पहिलो क्वार्टर फाइनलमा क्रोएशियाले ब्राजिललाई पेनाल्टीमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। क्रोएशियाले लगातार चार पेनाल्टी सुटलाई गोलमा परिणत गरेको थियो।
ब्राजिलको एउटा प्रहार क्रोएशियाका किपर डी. लिभाकोभिकले रोकेका थिए भने अर्को प्रहार बारमा लागेर फर्किएको थियो। दुई वटा प्रहार मात्रै गोलमा परिणत भएका थिए।
यसअघि ९० मिनेटमा कुनै गोल नभएपछि खेल अतिरिक्त समयमा गएको थियो। पहिलो अतिरिक्त समयको इन्जुरी समयमा ब्राजिलले गोल गरेको थियो। ब्राजिलका लागि १०५औं मिनेटपछि इन्जुरी समयमा नेयमारले गोल गरेका थिए।
त्यसपछि दोस्रो अतिरिक्त समयको क्रोएशियाले गोल फर्काएको थियो। क्रोएशियाका लागि ब्रुनो पेटकोभिकले ११६औं मिनेटमा गोल गरेका हुन्।
अतिरिक्त सहित १२० मिनेटको खेलमा १-१ गोलले बराबरी भएपछि 'पेनाल्टी सुट आउट'मा गएको थियो। जसमा क्रोएशियाले ब्राजिललाई पराजित गरेको हो। यससँगै कतार विश्वकपको सेमिफाइनलमा पुग्ने क्रोएशिया पहिलो टोली बनेको छ।
यसअघि प्रिक्वार्टर फाइनलमा पनि क्रोएशियाले जापानलाई पेनाल्टी सुट आउटमै पराजित गरेको थियो।