मानव अधिकार आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिवेदन
राष्ट्रिय मानव अधिकार आयोगले बुधबार आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ।
आयोगको प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०७८÷७९ मा १११ वटा उजुरी परेका छन्। जसमा राजनीतिक तथा नागरिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, यातना विरुद्ध, महिला, बालबालिका, जातीय विभेदविरुद्ध, अपाङ्गता भएका व्यक्ति, बेपत्ता पार्ने कार्यविरुद्ध, आप्रवासी कामदार र तिनको परिवारको अधिकारको उल्लङ्घनका घटनामा छन्।
आयोगले पू्रानो र नयाँ गरि ५०३ उजुरीमाथि अनुसन्धान भएको जनाएको छ। आयोगले अनुसन्धान गरी कारबाहीका लागि गरेको सिफारिशमा १५.३ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन भएको जनाएको छ। त्यस्तै, ३९.२ आंशिक कार्यान्वयन भएको र ४५.५ सिफारिश कार्यान्यन हुन बाँकी रहेको छ।
आयोगको प्रतिवेदन बुझ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकार र लोकतन्त्रको अवलम्वनमा नेपाल उच्च स्थानमा रहेको उल्लेख गरिन्। उनले मानव अधिकार शिक्षा र संस्कृति विकासको लागि शैक्षिक संस्थाहरूसँग सहकार्य गरेर अगाडि बढ्न आयोगलाई सुझाव दिइन्।
त्यस्तै, आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार प्रवद्र्धन सम्बन्धी भएका कार्यक्रमबारे प्रकाश पारेका थिए।