ब्याजदर र चालू पूँजी कर्जा नीतिबारेको अडान यथावत् राख्ने गर्भनर अधिकारीको सङ्केत
नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीले ब्यांकको ब्याजदर र चालू पूँजी कर्जा नीतिबारेको अडान कायम राख्ने सङ्केत गरेका छन्।
उनले व्यवसायीहरूको विरोधका बावजूद अहिले राष्ट्र ब्यांकले लिइरहेको नीति अर्थतन्त्रका लागि उचित भएको भन्दै यसको प्रतिरक्षा गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बजारले निर्धारण गरेको ब्याजदरमा हस्तक्षेप गरी घटाउन नहुने बताए। उनले भने, “के नेपाल राष्ट्र ब्यांकले नै ब्याजदर तोक भनेर माग गरिएको हो? त्यस्तो सुझाव हो भने त्यसमा पनि छलफल गरौं।”
गभर्नर अधिकारीले चालू पूँजी कर्जाबारेको नीति एक्कासि कार्यान्वयनमा नल्याएको बताए। उनले गत वर्षको पुसमा छलफलका लागि अघि सारिएको र सबै पक्षको सुझाव सहित गत भदौदेखि मात्रै कार्यान्वयन शुरू गरिएको बताए। उनले व्यवसायीलाई लामो अवधिको ऋण चाहिने भए त्यसै प्रकारको ऋण लिनुपर्ने बताउँदै चालू पूँजी कर्जाका नाममा ऋण लिएर दुरुपयोग गर्न नहुनेमा जोड दिए। “ब्यांकको ऋण सही उद्देश्यले प्रयोग हुनुपर्छ,” उनले भने।
उनले चालू पूँजी कर्जाको नीति पनि असंशोधनीय नरहेको तर व्यवसायी पनि नियमभित्र बस्नुपर्ने बताए। व्यवसायीले ब्याजदरमा हस्तक्षेप गर्न र चालू पूँजी कर्जा नीतिको कार्यान्वयन दुई वर्षपछि सार्न गरिरहेको मागप्रति सङ्केत गर्दै उनले गलत उपकरण र उपाय खोज्न नहुने बताए। “क्षमता र नियन्त्रण बाहिरका क्षेत्रमा लैजान गलत उपाय र उपकरण प्रयोग गरे सङ्कट आउनेमा हामी सजग छौं,” उनले भने।
कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र सङ्कटमा नभएको बताए। अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक रहेकाले अर्थतन्त्र सङ्कटमा नरहेको जिकिर गरे। उनले नेपालको अर्थतन्त्रमा केही समस्या भए पनि सङ्कटको स्थितिमा नरहेको बताउँदै प्रश्न गरे, “अर्थतन्त्रमा कहाँ छ सङ्कट?”
उनले देशको अर्थतन्त्रको मौलिक स्वरूपमा रहेकाले एकैपटक उचाइमा पुग्ने वा एक्कासि तल नझर्ने पनि बताए।