प्रहरी चढेको जीप बैतडीमा दुर्घटना; तीन प्रहरीको मृत्यु‚ नौको अवस्था गम्भीर
मतपेटिका पुर्याएर फर्किंदै गरेको जीप बैतडीमा दुर्घटना हुँदा तीन जना प्रहरीको मृत्यु भएको छ।
प्रहरी बोकेको से१ज ८५४ नम्बरको जीप सोमबार बिहान बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोलामा दुर्घटना भएको हो। जीप दशरथचन्द राजमार्गबाट करीब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। जीप जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्कंदै थियो।
दुर्घटनामा आठ प्रहरी र चालक घाइते भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। गम्भीर घाइतेहरूको उद्धारका लागि हेलिकप्टर बोलाइएको पन्थीले बताए। दुर्घटनामा परेर तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको हो। उनीहरूको सनाखत हुन बाँकी छ।
“आठ प्रहरी र एक चालकको अवस्था गम्भीर छ‚” प्रजिअ पन्थीले भने‚ “उनीहरूलाई उपचारका लागि कोहलपुर पठाउने तयारी छ, घाइतेलाई पाटन विमानस्थलमा ल्याएका छौं, सेनाको हेलिकोप्टर आउँदै छ।”
रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालक अनिंदो भएर दुर्घटना भएको हुन सक्ने प्रजिअ पन्थीको भनाइ छ। जीपमा चालक सहित १२ जना थिए।