अत्यन्त उत्साहपूर्ण मतदान, दलहरूलाई प्रेरणा: कांग्रेस
नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अत्यन्त उत्साहपूर्ण मतदान भएको जनाएको छ।
पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भनेका छन्, “प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रूपमा मतदान भएको छ।”
मतदानमा लोकतन्त्रप्रतिको अगाध आस्था अभिव्यक्त भएको कांग्रेसको ठहर छ। विज्ञप्तिमा भनिएको छ, “मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ।”
निर्वाचनमा देखिएको सक्रियता र उत्साहपूर्ण सहभागिताले सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा दिएको कांग्रेसको ठहर छ।