शेयरमा उतारचढावको सरकार गठनसँग सम्बन्ध छैन: अर्थमन्त्री महरा
उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पछिल्लो समयमा पुँजी बजारमा आएको उतारचढावको सरकार परिवर्तनसँग कुनै सरोकार नरहेको दाबी गरेका छन् ।
“नेप्सेमा आएको परिवर्तन सरकार परिवर्तनसँग सम्बन्धित छैन, पुँजी बजारलाई सरकार परिवर्तनसँग जोड्न मिल्दैन,” अर्थ मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ।
अर्थमन्त्री महराले पुँजी बजारका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की र नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियासँग आजै छलफल गरेका थिए ।
छलफलका क्रममा पुँजीबजारमा देखिएको उतारचढाव सरकार परिवर्तनले नभई प्राविधिक एवम् बजारको प्रकृतिअनुसार भएको र यसबाट लगानीकर्ता आत्तिनु नपर्ने निकर्ष रहेको उनको भनाइ थियो ।
मन्त्री महराले पुँजीबजारका लगानीकर्तालार्ई विश्वासमा लिएर सरकार अगाडि बढ्ने बताउँदै थपे, “सरकार र अर्थ मन्त्रालय निजी क्षेत्रलाई पूर्ण विश्वासमा लिएर काम गर्न चाहन्छ, यसमा कुनै आशङ्का गर्नुपर्दैन ।”
उनले निजी क्षेत्रलाई विश्वासमा लिएर नै पुँजी विकास गर्न सरकार प्रतिबद्ध रहने स्पष्ट पारे ।
पुरक बजेट नल्याउने
महराले वर्तमान सरकारले कुनै पनि राजनीतिक पूर्वाग्रह नराखी पूर्व सरकारले पेस गरेको बजेटलाई नै निरन्तरता दिइने बताए ।
उनले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको बजेटलाई नै अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
“राजनीतिक पूर्वाग्रह नराखी अगाडि बढ्छौँ, त्यो बजेटमा हाम्रो पनि स्वामित्व छ,” अर्थमन्त्री महाराले भने ।
संसद्ले विनीयोजन विधेक पास गरिसकेको अवस्थामा बाँकी रहेका अरु विधेयकलाई चालु सदनबाटै पास गरिने स्पष्ट गर्दै उनले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाए ।