दलहरूले सुकुम्बासी समस्यालाई चुनाव जित्ने माध्यम बनाए: सुकुम्बासी मोर्चा
राजनीतिक दलहरूले चुनाव जित्नका लागि मात्रै सुकुम्बासी मुद्दालाई राजनीतिक अजेन्डा बनाएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले जनाएको छ।
देशभर रहेका लगभग ७० लाख सुकुम्बासीको समस्याको विषयमा सरकारले गम्भीर भएर नसोचेको मोर्चाको भनाइ छ। राजनीतिक दलहरूले चुनाव जित्नका लागि सुकुम्बासी समस्या समाधान गर्छु भने पनि सरकारमा गएपछि कार्यान्वयन नगरेको मोर्चाकी प्रवक्ता स्मिता पोखरेलले बताइन्।
“सुकुम्बासीका समस्या समाधान गर्न आयोग, ऐन, कानून सबै छन्, तर सरकारको इच्छाशक्ति नभएकाले सुकुम्बासी समस्यामा छन्,” उनले भनिन्।
राष्ट्रिय सुकुम्बासी मोर्चाका अध्यक्ष नारायण परिश्रमीले सरकार उदासीन भएकै कारण सुकुम्बासी बस्तीमा भूमाफियाको चलखेल बढेको बताए। उनका अनुसार, सुकुम्बासी समस्या समाधान गर्न बनेका आयोगमा सरोकारवाला पक्षलाई समावेश नगरेको कारण पनि समस्या समाधान हुन सकेको छैन। “सुकुम्बासी आयोगमा गैरसुकुम्बासी भएकाले समस्या समाधान भएन,” उनले भने।
मोर्चाका सदस्यहरूले ९५ प्रतिशत सुकुम्बासी ३० वर्षदेखि एउटै ठाउँमा बस्दै आए पनि राज्यले हेपेको गुनासो गरे। काठमाडौंको थापाथलीस्थित मार्टिन चौतारीमा सोमबार सुकुम्बासी मोर्चाले सम्पादकहरूसँग छलफल गरेको हो। मोर्चाले सुकुम्बासीका मुद्दालाई संवेदनशील भएर उठाइदिन आग्रह गर्यो।