आज देशभर वर्षा‚ कस्तो रहला भोलिको मौसम?
दशैंको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ। वर्षाले गर्दा आवातजावतमा पनि कठिनाइ भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार‚ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको छ। आज प्रदेश १, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ। अहिले गण्डकी, लुम्बिनी प्रदेशका केही भूभाग तथा बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।
आज राति पनि बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा थोरै र प्रदेश १ तथा मधेश प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
विजया दशमीको दिन भोलि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। पश्चिम भागमा भीषण वर्षाको सम्भावना रहेको छ। अन्य स्थानमा भने हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।