विवेकशीलले खारेज गर्यो ‘विचारभन्दा माथि देश’
विवेकशील साझा पार्टीले तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेज ‘विचारभन्दा माथि देश’ खारेज गरेको छ।
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले उक्त दस्तावेज खारेज गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिएका छन्। उक्त दस्तावेजकै कारण पार्टीभित्र तीव्र राजनीतिक असहमति शुरू भएको र पार्टी निर्माणमा बाधा पुगेको परियारले जारी गरेका विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा उल्लेख छ‚ “उक्त दस्तावेजकै कारण पार्टीभित्र तीव्र राजनीतिक असहमति शुरू भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिशन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरिएको हो।”
दस्तावेजमा स्थानीय तहलाई पुनःसंरचना र सुदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने उल्लेख छ। त्यस्तै, धर्मनिरपेक्षतामाथि जनमत संग्रह गर्नुपर्ने अध्यक्ष मिश्रको दस्तावेजमा माग गरिएको छ।
यस्तै‚ बैठकले पार्टी हित विपरीतको गतिविधिमा संलग्न नेताहरूलाई स्पष्टीकरण सोध्ने र आवश्यक कदम चाल्ने निर्णय गरेको छ। बैठकले पार्टीभित्र देखा परेको वैचारिक असहमतिका कारण राजीनामा दिएका, निष्क्रिय नेताहरूलाई पार्टीमा पुन: सक्रिय हुन अपील गरेको छ।