अयोग्य व्यक्तिले अल्ट्रासाउन्ड गरे कारबाही गर्ने मेडिकल काउन्सिलको चेतावनी

नेपाल मेडिकल काउन्सिलले नियम विपरीत अल्ट्रासाउन्ड गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ।
देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा आवश्यक न्यूनतम योग्यता विना अनधिकृत रूपमा अल्ट्रासाउन्ड सेवा दिइरहेको गुनासो आएकाले उक्त चेतावनी दिएको काउन्सिलले जनाएको छ। काउन्सिलले सेवालाई व्यवस्थित गर्न तीन बुँदे निर्देशन पनि जारी गरेको हो।
'स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७०' को दफा २३ मा उल्लेख भए बमोजिम एक्स-रे, सीटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्ड लगायतका रेडियोलोजी सेवा तथा सोको रिपोर्टिङ रेडियोलोजिस्टहरूले मात्र गर्न पाउने व्यवस्था छ। यसका साथै जीवन बचाउने, हातगोडा बचाउने लगायतका आकस्मिक अवस्थाहरू बाहेक अल्ट्रासाउन्ड सेवा रेडियोलोजिस्ट आफैं वा निजको प्रत्यक्ष निगरानीमा गर्नुपर्ने विषयमा नेपाल मेडिकल काउन्सिल प्रस्ट रहेको काउन्सिलले जनाएको छ।
यस्ता छन् काउन्सिलको तीनबुँदे निर्णय
१. नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० को दफा २३ को उपदफा (२) (ग) (१) (२) मा गरिएको व्यवस्था अनुसार, रेडियोलोजी तथा इमेजिङको आधिकारिक रिपोर्टिङ नेपाल मेडिकल काउन्सिलमा रेडियोलोजिस्टका रूपमा दर्ता भएको विशेषज्ञ चिकित्सकले मात्र गर्न पाउने।
२. स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० को दफा २३ को उपदफा (२) (ङ) मा गरिएको व्यवस्थामा आधारित रहेर आफ्नो क्षेत्रमा मात्र प्रयोगमा ल्याउने गरी मान्यता प्राप्त संस्थाबाट कम्तीमा तीन महीनाको अल्ट्रासाउन्ड तालीम प्राप्त नेपाल मेडिकल काउन्सिलको दर्तावाल स्त्री तथा प्रसूतिरोग विशेषज्ञ तथा जनरल प्राक्टिस/इमर्जेन्सी मेडिसिन विशेषज्ञले अल्ट्रासाउन्डको प्रयोग गर्न पाउनेछन्। अल्ट्रासाउन्ड तालीमको आधिकारिकता तथा प्रमाण काउन्सिलबाट जाँचबुझ हुन सक्नेछ।
३. सीमित सीप तथा कौशल सहितको अल्ट्रासाउन्ड तालीम प्राप्त गरेका स्वास्थ्यकर्मीले खास प्रयोजनका लागि सरकारले तोकेका स्थानमा तोकिएका विषय तथा अङ्गको मात्र अल्ट्रासाउन्ड गर्नुका साथै त्यस्तो तालीम प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीले सरकारी, निजी तथा संस्थागत सेवा प्रदायक निकायमा आफूले उपचार गर्दै आएको र उपचार गर्नुपर्ने बिरामीको रोग पहिचान, निदान तथा उपचारमा सहयोग पुग्ने हेतुले अल्ट्रासाउन्ड गर्न पाउने तर व्यावसायिक रिपोर्टिङ गर्न नपाउने।
माथि उल्लिखित बाहेक ऐन, नियम तथा व्यवस्थापनका विपरीत अनधिकृत रूपमा अल्ट्रासाउन्ड गरेको वा गराइएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही भइजाने व्यहोरा सबैमा सूचित गरिन्छ ।