भ्यान दुर्घटनामा एकै परिवारका पाँच सहित आठ यात्रुको मृत्यु
सल्यानमा आज बिहान भएको पिक अप भ्यान दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।
बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको रा.१ ज ५६३ नम्बरको पिक अप भ्यान कपुरकोट गाउँपालिका-३ मूलपानीमा आज बिहान २ बजे दुर्घटना भएको हो।
दुर्घटनामा कपुरकोट-६ का चालक २१ वर्षीय जीतबहादुर बोहोरा, ४० वर्षीय टोपबहादुर वली, ११ वर्षीय वसन्त वली, ३७ वर्षीय धर्म वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र कपुरकोट-५ का ५३ वर्षीय ललित वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दामोदार केसीले बताए। उनका अनुसार खुमलाल, कुमारी, धर्म, ललित र वसन्त एकै परिवारका हुन्।
बाँकेको ढकेरीबाट बिहेभोज खाएर फर्कंदै गरेका उनीहरू दुर्घटनामा परेका हुन्। मृतकको शव परीक्षणका लागि सल्यान अस्पताल लगिएको छ।
दुर्घटनामा परी घाइते कपुरकोट-६ जलवाङका ३५ वर्षीय तिलक वलीको तुलसीपुरमा उपचार भइरहेको छ। दुर्घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।