जगदम्बा-श्री र मदन पुरस्कार अर्पण
२०७८ सालको जगदम्बा-श्री र मदन पुरस्कार अर्पण गरिएको छ।
ललितपुरमा मंगलबार आयोजित विशेष समारोहमा जगदम्बा-श्री भाषा/साहित्यसेवी दुर्गाप्रसाद श्रेष्ठ र मदन पुरस्कार अग्नि महाकाव्यका लागि नवराज लम्साललाई अर्पण गरियो। मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले स्रष्टाद्वयलाई प्रमाणपत्र र पुरस्कार राशि अर्पण गरेका हुन्।
बनारसबाट प्रकाशन हुने साहित्यिक पत्रिका उदयका सम्पादक एवम् प्रकाशक समेत रहेका श्रेष्ठले सम्मान ग्रहण गरेपछि मन्तव्य दिँदै उदयसँग जोडिएका तथा अन्य ऐतिहासिक सन्दर्भ स्मरण गरेका थिए। काशीबहादुर श्रेष्ठले १९९३ सालमा शुरूआत गरेको उदय पत्रिका छोरा दुर्गाप्रसादले अद्यापि प्रकाशन गर्दै आएका छन्।
श्रेष्ठले आफूले सह-निर्देशन, पटकथा/संवाद लेखन र अभिनय समेत गरेको नेपालमै बनेको पहिलो चलचित्र आमा (२०२२ साल) निर्माण र प्रदर्शनको रोचक विवरण पनि सम्झिएका थिए।
मदन पुरस्कारबाट पुरस्कृत लम्सालले मन्तव्यका क्रममा ज्ञान परम्परा, महाकाव्य परम्परा र लेखकीय सत्ताको सर्वोच्चताबारे चर्चा गरेका थिए। आफ्नो कृति पुरस्कृत भएको क्षण जीवनकै उपल्लो खुशीको क्षण भएको भन्दै उनले आफ्नो लेखन कर्मले फेरि सामाजिक स्वीकृति पाएको बताए।
“आज अग्निलाई साथमा राखेर यसरी उभिन पाउँदा सीमान्तीकृत कर्ण, नेपाली धराको बहुलता र जनताको मुक्ति आवाज एकै पटक सम्मानित भएको महसूस गरेको छु,” उनले भने।
समारोहमा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले विद्वत् प्रवचन प्रस्तुत गरेका थिए।
मदन पुरस्कार २०१३ सालदेखि र जगदम्बा-श्री २०४५ देखि दिन थालिएको हो।