डा. केसीका माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालयमा वार्ता
सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकारले वार्ता थालेको छ।
डा. केसीका माग सम्बोधन गरेर सत्याग्रह तोड्नका लागि पहल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता चलिरहेको छ। वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, स्वास्थ्य सचिव रोशन पोखरेल र शिक्षा सचिव रामकृष्ण सुवेदी सहभागी छन्।
त्यस्तै, डा. केसीका तर्फबाट डा.जीवन क्षेत्री, अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र प्रितम सुवेदी सहभागी छन्। डा. केसीका माग सम्बोधनका लागि छलफल भइरहेको वार्तामा सहभागी डा. क्षेत्रीले बताए।
डा. क्षेत्रीका अनुसार, तीन बुँदमा सहमति जुट्न सकेको छैन। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै गरिएको नियुक्ति सच्याउने, आवश्यक कानूनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालनको व्यवस्था गर्ने र चिकित्सा शिक्षा आयोगको कार्यसम्पादनमा हुँदै आएको हस्तक्षेप रोकी तत्काल कर्मचारी नियुक्तिका लागि सांगठिनक संरचना मन्त्रिपरिषद्बाट पारित गर्नुपर्ने डा. केसीको माग छ।
यी तीनै विषयमा कुरा नमिल्दा वार्ता टुङ्गोमा पुग्न सकेको छैन। यसलाई टुङ्गोमा पुर्याउने प्रयास भइरहेको डा. क्षेत्रीले बताए।
डा. केसी १३ दिनदेखि सत्याग्रहमा छन्। गत भदौ २७ गते धनगढीमा सत्याग्रह शुरू गरेका डा. केसीको स्वास्थ्यमा समस्या भएपछि काठमाडौं ल्याइएको छ। उनको त्रिवि शिक्षण अस्पतालमा उपचार चलिरहेको छ। उनले अस्पतालमै सत्याग्रह जारी राखेका छन्।