साढे १२ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक
दुई ठाउँमा पहिरो जाँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक साढे १२ घण्टापछि खुलेको छ।
गएराति भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदो सहितको पहिरो खसेको थियो। पहिरोले सडक अवरुद्ध भएको थियो।
दुवै ठाउँको पहिरो पन्छाएर सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ। अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।
रातभर सडक अवरुद्ध हुँदा सवारी साधनको लामो लाइन लागेको थियो। पहिरोले रातभर मुग्लिनमै रोकिएका सवारी साधन गन्तव्यतिर लागेका छन्।
चाडपर्व नजिकिएका कारण पनि नारायणगढ–मुग्लिन सडकमा सवारी साधनको चाप बढी छ। तर, यो सडकमा पटक पटक पहिरो जाने गरेको छ।
यस वर्ष वर्षायाम शुरू भएसँगै पहिरो जान थालेको थियो। गत दुई महीनामा पहिरोले १५ पटकभन्दा बढी सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।