रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिने लिङ्देनको प्रस्ताव
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन्।
स्थानीय चुनावमा विवेकशील साझाले जित हासिल गर्न नसकेपछि अध्यक्षबाट राजीनामा दिएका मिश्र राप्रपासँग सहकार्यमा लागेका थिए। उनले पार्टी एकीकरणको प्रस्ताव समेत गरेका थिए।
विवेकशील साझामा समीक्षा बास्कोटाले नेतृत्व लिएसँगै राप्रपासँग एकीकरणको विषय किनारा लागेको थियो। त्यसपछि पूर्व अध्यक्ष मिश्रले राप्रपा प्रवेश गर्ने तयारी थालेका थिए।
त्यसका क्रममा विभिन्न चरणमा वार्ता पनि भएका थिए। मिश्रले सहअध्यक्षको माग गरेपछि सहमति जुट्न नसकेको राप्रपाका केन्द्रीय कार्यसम्पादन समितिका एक सदस्यले बताए।
पछिल्लो समय उपाध्यक्ष दिने विषयमा छलफल चलिरहेको थियो। राप्रपामा ६ जना उपाध्यक्ष छन्।
राप्रपाको असोज ६ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भने अध्यक्ष लिङ्देनले वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन्। “अध्यक्षजीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा रवीन्द्र मिश्रजीलाई वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गर्नुभएको छ,” केन्द्रीय कार्यसम्पादन समितिका अर्का सदस्यले भने।
त्यसमा मिश्र पनि सहमत हुने लिङ्देनको भनाइ थियो। केन्द्रीय कार्यसम्पादन समितिका अन्य सदस्यले असहमति जनाएका छैनन्। बैठकमा विस्तृत रूपमा छलफल भएको ती नेताले बताए।
उनका अनुसार, अब एक पटक छलफल हुँदा पार्टी प्रवेशको टुङ्गो लाग्नेछ। “चुनाव पनि नजिकिएको छ, त्यसैले अब एक ‘सीटिङ’ मा टुङ्गो लाग्छ,” ती नेताले भने।
मिश्रले फेरि काठमाडौं १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। उनी २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग थोरै मतले पराजित भएका थिए। सिंहले १० हजार ९३६ र मिश्रले १० हजार ११८ मत पाएका थिए।
मिश्र राप्रपामा प्रवेश गरेपछि त्यही क्षेत्रबाट उम्मेदवार बनाउने तयारी छ। यससँगै राप्रपाले नेकपा (एमाले)सँग पनि चुनावी तालमेलका लागि छलफल गरिरहेको छ।