दशैंका लागि काठमाडौंबाट घर फर्केका यात्रु चढेका दुई बस दुर्घटना, १२ जनाको मृत्यु
दशैंका लागि काठमाडौंबाट घर फर्केका यात्रु सवार दुई वटा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्।
काठमाडौंबाट रुकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस रुकुमको भूमे गाउँपालिका–३ क्याङसीबगरमा बिहीबार दुर्घटना भएको हो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
तीन जनाको घट्नास्थलमा र दुई जनाको जिल्ला अस्पताल रुकुमकोटमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। मृतकको पहिचान खुल्न सकेको छैन।
दुर्घटनामा परि १२ जना घाइते भएका छन्। उनीहरूमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।
त्यस्तै, काठमाडौंबाट हेटौँडा जाँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा बिहीबार दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय, भीमफेदीकी प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठका अनुसार ६ जनाको घटनास्थलमै र एकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।
दुर्घटनामा परेर मृत्यु भएकाहरूको पहिचान खुल्न सकेको छैन। अन्य घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ।