मोर्चाको धम्कीका कारण एमालेको कार्यक्रम स्थगित
वीरगञ्जमा मंसीर २३ र २४ गते गर्न लागिएको एमालेको कार्यक्रम मधेशी मोर्चाको धम्कीका कारण स्थगित भएको छ ।
नेकपा एमालेका महासचिव इश्वर पोखरेल, सचिव योगेश भट्टराई लगायतका केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गर्ने गरी तय भएको कार्यक्रम स्थगित भएको हो ।
वीरगञ्जको नगरसभागृहमा एमालेको मुखपत्र ‘नवयुग’का ग्राहकहरुको दुईदिने राष्ट्रिय भेला आयोजना गरिने तय गरिएको भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको एमालेको प्रचार विभागका सदस्य एवम् वीरगञ्जका स्थानीय युवा नेता अरविन्द सिंहले बताए ।
“राष्ट्रिय राजनीति जटिल देखिएको छ, पार्टीको नेतृत्व सडक र सदन संघर्षमा केन्द्रित छ,” सिंहले भने, “त्यही भएर वीरगञ्जको कार्यक्रम स्थगित गरिएको हो ।”
तर मधेशी मोर्चाले यसअघि नै पर्सामा एमालेलाई कुनैपनि कार्यक्रम गर्न नदिने धम्की दिएको र कार्यक्रम आयोजना गरे मुठभेडको स्थिति आउनसक्ने भन्दै स्थगित गरिएको बुझिएको छ ।
१८ मंसीरमा वीरगञ्जमा बसेको मधेशी मोर्चाका स्थानीय नेताहरुको बैठकले मोर्चाकोे माग पूरा गर्न एमाले बाधक बनेको ठहर गर्दै पर्सामा एमालेलाई कुनै पनि राजनीतिक गतिविधी गर्न नदिने र गरेको खण्डमा प्रतिवाद गर्ने चेतावनी दिएको थियो ।
मोर्चा र एमालेका कार्यकर्ताबीच मुठभेड हुन सक्ने आशंकामा कार्यक्रम स्थगित गरिएको एक स्थानीय एमाले नेताले बताए ।
कार्यक्रम स्थगित भएको प्रति एमालेका स्थानीय युवा कार्यकर्ताहरुले भने पार्टी नेतृत्व प्रति असन्तुष्टी जनाएका छन् ।
एमालेको भ्रातृ संगठन युवा किसान संघका केन्द्रीय सदस्य उमेश गुप्ताले अन्तिम समयमा आएर स्थगित हुँदा एमालेका स्थानीय युवा नेताहरु आश्चर्यमा परेको बताए ।
“मोर्चाको धम्कीले कुनै लछारपाटो लगाउन सक्दैनथ्यो । पर्सामा एमालेका हरेक कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न स्थानीय युवाहरु सक्षम छन् ।”
सुरेश बिडारी, वीरगञ्ज