बसको ठक्करले विद्यार्थीको मृत्यु, गजुरी तनावग्रस्त
धादिङको गजुरी गाउँपालिका-१ गजुरी बजारमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ।
काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करले स्थानीय ६ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु थियो। जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी उपरीक्षक राकेश सिंहका अनुसार गजुरीकै आदर्श माविमा अध्ययनरत विजयलाई विद्यालय जाने क्रममा बसले ठक्कर दिएको हो।
घटनापछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन्। उनीहरूले सडक अवरुद्ध पारेका छन्। अहिले पृथ्वीराजमार्ग हुँदै गुड्ने सवारी गजुरी आसपासमै रोकिएका छन्।
सडक खुलाउन स्थानीय र पीडितका आफन्तहरूसँग छलफल भइरहेको प्रहरीले जनाएको छ। गजुरीमा लाग्ने भीड कम गर्न प्रहरीले राजमार्गका ठाउँ-ठाउँमा सवारी रोकेका छन्। आक्रोशित भीडले सडकमा नाराबाजी गरिरहेका छन्।
घटनास्थलमा थप भीड बढ्न नदिन प्रहरीले काठमाडौंतर्फको गल्छी बजार र मुग्लिनतर्फको बेनिघाट क्षेत्रमा सवारी रोकेको छ। सयौँ सवारी जाममा परेका छन्। एम्बुलेन्सलाई भने प्रहरीले स्कटिङ गरेर पास गराइरहेको छ।