बयालपाटा अस्पताल सञ्चालनका लागि सुदूरपश्चिम सरकार र न्याय हेल्थबीच सम्झौता
अछामको बयालपाटा अस्पताल सञ्चालनका लागि सहयोग गर्ने सम्बन्धी सुदूरपश्चिम सरकार र न्याय हेल्थ नेपालबीच सम्झौता भएको छ।
न्याय हेल्थ नेपालले बयालपाटा अस्पताल सञ्चालन गर्दै आएको छ। यसको दीर्घकालीन व्यवस्थापनका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने सम्झौता गरेको हो।
सम्झौतापत्रमा न्याय हेल्थ नेपालका अध्यक्ष कुन्द दीक्षित र सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काले हस्ताक्षर गरेका छन्।
सामाजिक विकास मन्त्रालयले पाँच वर्षसम्म वार्षिक रु.नौ करोड सहयोग गर्ने सम्झौता भएको अस्पतालका मेडिकल निर्देशक डा. मन्दीप पाठकले जानकारी दिए।
देश संघीयतामा गएसँगै ५० देखि दुई सय शय्यासम्मका अस्पताल प्रदेश सरकार मातहत राखिएको छ। सुदूरपश्चिम सरकार मातहत भए पनि अहिलेसम्म प्रदेश सरकारले व्यवस्थापनमा सहयोग गर्ने सम्झौता हुन सकेको थिएन।
बयालपाटा अस्पताल ५० शय्याको रहेको छ। न्याय हेल्थ नेपालले १४ वर्षदेखि यो अस्पताल सञ्चालन गरिरहेको छ।