‘डा.केसीका मागप्रति सरकार गम्भीर छ’
सरकारले सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको मागप्रति गम्भीर रहेको जनाएको छ।
स्वास्थ्य शिक्षा सुधारका लागि आन्दोलनरत डा. केसी यसअघि आफूसँग भएका माग सम्बोधनका लागि सत्याग्रहमा बसिरहेका छन्। उनको सत्याग्रहको आज पाँचौं दिन हो।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले डा. केसीका मागप्रति सरकार गम्भीर रहेको बताएका छन्। डा. केसीले उठाएका मागका विषयमा गहन छलफल भइरहेको उनको भनाइ छ।
“उहाँ (डा.केसी)को स्वास्थ्य अवस्था जटिल बन्दै गएको विषयप्रति ध्यानाकर्षण भएको छ। यो विषयलाई समाधान गर्न अन्तरमन्त्रालय समन्वय आवश्यक छ। हामीले यस विषयमा छलफल गरिरहेका छौं,” राज्यमन्त्री केसीले भने।
डा. केसीले सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइनुपर्ने, जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने माग राखेका छन्।
त्यस्तै, संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्स-रे लगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरिनुपर्ने, सरकारले तोकेको सूची अनुसारका सबै निःशुल्क औषधि आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरिनुपर्ने उनको माग छ।