डेंगी संक्रमित ११ हजार नाघे, सबैभन्दा बढी बागमतीमा
डेंगी संक्रमितको संख्या दिनदिनै बढिरहेको छ भने बुधबार एकैदिन एक हजारभन्दा बढी संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म डेंगी संक्रमितको संख्या ११ हजार ६५ पुगेको छ। यो संख्या मंगलबार नौ हजार ८३५ थियो।
अहिलेसम्म देशका ७५ जिल्लामा डेंगीको संक्रमण देखिएको छ। सबैभन्दा बढी संक्रमण बागमती प्रदेशमा देखिएको छ।
बुधबारसम्म बागमतीमा आठ हजार ३९० जनामा डेंगी पुष्टि भएको छ। त्यस्तै, लुम्बिनीमा एक हजार ४२१, प्रदेश १ मा ३४७ र सुदूरपश्चिममा ३२३ जनामा डेंगी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै, गण्डकीमा २२४, मधेशमा १९८ र कर्णालीमा १६२ जनामा डेंगीको संक्रमण पुष्टि भएको छ। डेंगीको संक्रमण बढ्दै गएकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।