सेप्सिस दिवसमा विभिन्न कार्यक्रम
नेपाल सघन उपचार विकास प्रतिष्ठानको आयोजनामा विश्व सेप्सिस दिवस मनाइएको छ। क्रिटिकल केयर सर्भिस एशोसिएशन अफ नेपाल र नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको सहकार्यमा दिवस मनाइएको हो।
विश्वभर सेम्टेम्बर १३ मा विश्व सेप्सिस दिवस मनाइन्छ। विभिन्न अस्पतालमा कार्यरत डाक्टर र नर्सको सहभागितामा सेप्सिस वाक र आइसीयू सेप्सिस क्विज पनि आयोजना गरिएको थियो। कार्यक्रमको उद्घान गर्दै त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने बताए।
सेप्सिसबाट विश्वभर बर्सेनि ११ मिलियन मानिसको मृत्यु हुने र ४९ मिलियन संक्रमित हुन्छन्। चिकित्सकहरूका अनुसार‚ सेप्सिसको पहिचान जति सक्दो चाँडो हुनु आवश्यक हुन्छ। किनभने उपचारमा गरिने प्रत्येक घण्टाको ढिलाइले बिरामीको मृत्युदर बढाउँछ।
के हो सेप्सिस?
शरीरको कुनै अंगमा संक्रमण भयो र त्यो संक्रमणले शरीरका अन्य महत्त्वपूर्ण अंगमा असर पुर्यायो भने त्यसलाई मेडिकल भाषामा सेप्सिस भनिन्छ। सेप्सिसलाई 'लाइफ थ्रेटनिङ अर्गान डिस्फक्शन' पनि भनिन्छ।
यद्यपि‚ संक्रमण हुँदैमा सेप्सिस हुँदैन। छाती दुख्नु, खोकी लाग्नु, निमोनिया हुनु जस्ता समस्या भए समयमै उपचार गराई चिकित्सकको सल्लाहमा औषधि प्रयोग गरे निको हुन्छ।
तर, सही समयमा उपचार हुन सकेन र संक्रमणले शरीरका अन्य अंगको कामलाई असर पुर्याउन थाल्यो भने त्यो अवस्थालाई सेप्सिस भनिन्छ।
जस्तै, छातीमा असर पर्न गयो भने अक्सिजनको सन्तुलन बिग्रिएर भेन्टिलेटरमा राखी अक्सिजन दिनुपर्ने हुन सक्छ। मुटुमा असर परेर ब्लड प्रेसर कम हुँदा मेडिकल सपोर्ट लिएर ब्लड प्रेसरको सन्तुलन मिलाउनुपर्ने हुन सक्छ। संक्रमणकै कारण मिर्गौलामा असर परेर पिसाब कम हुने र डायलाइसिस गर्नुपर्ने, रगतमा असर परेर शरीरमा रगत बन्ने प्रक्रियामा कमी आउने, कलेजोमा असर परेर त्यसले राम्रोसँग काम नगर्ने, दिमागमा असर गरेर दिमागले राम्रोसँग काम नगर्ने आदि समस्या आउन सक्छ।
सेप्सिस संक्रमण जति बल्झिँदै गयो त्यति जटिल बन्दै जाने समस्या हो। यो नवजात शिशुदेखि वृद्धवृद्धा जोसुकैलाई पनि हुन सक्छ। सेप्सिस हुने सम्भावना बालबालिका र वृद्धवृद्धालाई बढी हुन्छ। यो उमेरमा शरीरको रोग प्रतिरोधात्मक क्षमता (इम्युन पावर) कम हुन्छ।
त्यसैगरी, पहिले नै कुनै रोगका कारण शरीरमा रोग प्रतिरोधी शक्ति घटेको बिरामीलाई सेप्सिस हुने सम्भावना धेरै हुन्छ। मिर्गौला प्रत्यारोपण गरेका, जसले इम्युन पावर घटाउने औषधि सेवन गरिरहेका हुन्छन्, उनीहरूलाई सेप्सिसको खतरा बढी हुन्छ। कुनै दुर्घटनामा परी वा अन्य रोगका कारण आइसीयूमा उपचार गराइसकेका वा गराइरहेका बिरामीलाई पनि सेप्सिस हुने सम्भावना बढी हुन्छ। सेप्सिस एउटै कारणले मात्र नभई जुनसुकै प्रकारका संक्रमणले हुन सक्छ।