देशभर नौ हजार ८३५ जनामा डेंगी संक्रमण
देशभर नौ हजार ८३५ जनामा डेंगी संक्रमण देखिएको छ। डेंगी संक्रमणबाट सात जनाको मृत्यु भएको छ।
संक्रमितमध्ये सबैभन्दा बढी बागमती प्रदेशका रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले जनाएको छ। इडीसीडीले सार्वजनिक गरेको भदौ १३ सम्मको तथ्याङ्क अनुसार‚ बागमतीमा हालसम्म सात हजार ४४० जनामा संक्रमण देखिएको छ। लुम्बिनी प्रदेशमा एक हजार ३५६ जनामा संक्रमण भएको छ।
इडीसीडीका अनुसार‚ १० वटा जिल्लामा डेंगीको प्रभाव बढेको छ। जसमा ललितपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, काभ्रेपलाञ्चोक र चितवन रहेका छन्। ललितपुरमा हालसम्म तीन हजार ६२२, काठमाडौंमा दुई हजार ४१४ र मकवानपुरमा ६६३ जनामा संक्रमण देखिएको छ।
नेपालमा पहिलो पटक २००४ मा डेंगी संक्रमण देखिएको थियो। त्यसपछि हरेक वर्ष देखिएकोमा सबैभन्दा उच्च संक्रमण २०१९ मा देखिएको थियो। २०१९ मा १७ हजार ९९२ मा डेंगी संक्रमण भएको थियो।
यस वर्ष पनि संक्रमण फैलिन थालेपछि गत आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै सबैलाई कार्यालयमा समेत सुरक्षित हुन आग्रह गरेको छ।
लामखुट्टेको टोकाईबाट सर्ने डेंगी संक्रमणको रोकथामका लागि इडीसीडीले १३९ स्थानीय तह, ६० जिल्ला तथा सातै प्रदेशमा यसको रोकथामका लागि बजेट पठाएको छ। विद्यालय तथा होटलहरूमा पनि संक्रमणको ‘आउटब्रेक’ हुनसक्ने भन्दै आवश्यक तयारी गर्न आग्रह गरिएको महाशाखाले जनाएको छ।