नेपालमा सेन्ट किट्स एन्ड नेभिसदेखि मौरिसससम्मको लगानी
शंकास्पद कारोबारको जोखिम रहेका ट्याक्स हेभन मुलुक सेन्ट किट्स एण्ड नेभिस, मौरिसस, ब्रिटिस भर्जिन आइल्याण्ड, आयरल्याण्ड, सिंगापुर, बरम्यूडा, केम्यान आइल्याण्ड्स जस्ता मुलुकको नेपालमा लगानी छ।
उत्तर र दक्षिण अमेरिकाबीचको पूर्वी भेगमा क्यारेबियन समुद्रमा छ टापु देश सेन्ट किट्स एन्ड नेभिस। अधिकांश नेपालीका लागि नामै पनि परिचित नभएको यो मुलुकसँग नेपालको दोहोरो सम्बन्ध धेरै छैन।
यो देशको क्षेत्रफल भक्तपुर जिल्लाको दोब्बर जति अर्थात् २६१ वर्गकिलोमिटर मात्रै छ, भने जनसंख्या करीब ४७ हजार हजार ६०६ मात्रै छ। यति सानो र टाढाको यो मुलुकसँग नेपालको आर्थिक साइनो भने अपत्यारिलो छ। नेपालमा प्रमुख लगानी गर्ने पाँच मुलुकमध्ये एउटा यो देश पनि हो भन्दा अस्वभाविक नै सुनिन्छ। तर, यो साँचो हो।
नेपाल राष्ट्र ब्यांकले मंगलबार सार्वजनिक गरेको नेपालमा प्रतक्ष वैदेशिक लगानी सम्बन्धी पछिल्लो प्रतिवेदनका अनुसार, २०७८ असारसम्म सेन्ट किट्स एन्ड नेभिसका कम्पनीहरूको नेपालमा रु.१४ अर्ब ५१ करोड लगानी छ। यो नेपालमा रहेको कुल वैदेशिक लगानीको ६.४ प्रतिशत हो। सेन्ट किट्स एन्ड नेभिसका लगानीकर्ताको कम्पनीमा चुक्ता पूँजी जम्मा रु.आठ करोड भए पनि बाँकी रकम सञ्चित कोषका राखिएको छ।
यद्यपि, अघिल्लो वर्षका तुलनामा यो देशका कम्पनीको सञ्चित रकम घटेको छ। २०७७ असारसम्म सेन्ट किट्स एन्ड नेभिसका कम्पनीको नेपालमा कुल लगानीको सञ्चिति रकम रु.२४ अर्ब ९३ करोड थियो। यद्यपि, नेपाल राष्ट्र ब्यांकले यो देशको कुन कम्पनीले नेपालको कस्तो व्यवसायमा लगानी गरेको हो भनेर खुलाएको छैन।
सेन्ट किट्स एन्ड नेभिसलाई शंकास्पद धनको कारोबार लुकाउन र कर छली गर्न सुरक्षित मानिने ‘ट्याक्स हेभन’ मुलुक भनेर चिनिन्छ। अन्यत्र देशका लगानीकर्ताले यो मुलुकका छद्म कम्पनी मार्फत विदेशमा लगानी गर्ने गर्छन्। यो मुलुक हुँदै ‘कालो धन’को कारोबार समेत हुने गरेको आरोप लाग्छ। स्रोत नखुल्ने सम्पत्ति लुकाउन सजिलो भएको र कर तिर्नु नपर्ने कारणले अन्य देशका लगानीकर्ताले सेन्ट किट्समा कम्पनी दर्ता गरेर सो कम्पनीमार्फत नेपालमा लगानी भित्र्याएको अनुमान छ।
त्यसैगरी, ट्याक्स हेभन भनी चिनिएको अर्को देश आयरल्याण्डको पनि नेपालमा रु.१६ अर्ब ४८ करोड लगानी रहेको छ। यो नेपालमा रहेको कुल विदेशी लगानीको ७.२ प्रतिशत हो। सांसद तथा अर्बपति उद्योगपति विनोद चौधरी तथा उनको परिवारको प्रमुख शेयर लगानी रहेको नबिल ब्यांकमा आयरलयाण्डको कम्पनी लगानीकर्ताका रूपमा जोडिन पुगेको छ। नबिलमा लगानी गरेको बाङ्लादेशको एनबी इन्टरनेशनल आयरल्याण्डस्थित एनबी इन्टरनेशनल लिमिटेड अन्तर्गत छ। विनोद चौधरीले एनबी इन्टरनेशनल आफ्नो स्वामित्वको भएको र छद्म लगानी मार्फत नबिल ब्यांकको शेयर किनेको आत्मकथामार्फत सार्वजनिक गरेका थिए।
त्यसैगरी, ट्याक्स हेभन भनी चिनिने मुलुक सिंगापुरको पनि नेपालमा रु.१५ अर्ब ४८ करोड लगानी छ। यो नेपालमा रहेको कुल वैदेशिक लगानीको ६.८ प्रतिशत हो। शंकास्पद कारोबार लुकाउन सहज मानिने सेन्ट किट्स एन्ड नेभिस, आयरल्याण्ड र सिंगापुरको नेपालमा कुल लगानी रु.४६ अर्ब ४७ करोड हाराहारीमा छ। यो छिमेकी देश भारतको नेपालमा भएको लगानीलाई गणना नगर्ने हो भने सर्वाधिक धेरै हो।
नेपालबाट ठूलो मात्रामा अवैध धनको ओसारपसार भइरहेको विभिन्न अध्ययनहरुले देखाउँदै आएका छन्। शंकास्पद कारोबारको जोखिम रहेका मौरिसस, ब्रिटिश भर्जिन आइल्याण्ड, बरम्यूडा, केम्यान आइल्याण्ड्स जस्ता मुलुकको पनि नेपालमा लगानी रहेको राष्ट्र ब्यांकको अध्ययनले देखाएको छ। नेपालमा ५५ देशको प्रतक्ष वैदेशिक लगानी छ।
राष्ट्र ब्यांकको प्रतिवेदनले नेपालमा सबैभन्दा धेरै वैदेशिक लगानी भारतको रहेको देखाएको छ। नेपालमा भारतीय कम्पनीहरूले रु.७५ अर्ब ८१ करोड लगानी गरेका छन्। यो नेपालमा रहेको कुल वैदेशिक लगानीको एक तिहाई हो। त्यसैगरी, दोस्रोमा चीनको लगानी रु.३३ अर्ब छ, जुन कुल वैदेशिक लगानीको १४.५ प्रतिशत हो।
नेपालमा अष्ट्रेलियाका लगानीकर्ताहरूको रु.१२ अर्ब १६ करोड, दक्षिण कोरियाका लगानीकर्ताको रु.नौ अर्ब ३५ करोड, युनाइटेड अरब इमिरेट्सका लगानीकर्ताको रु.आठ अर्ब ३५ करोड लगानी छ।
नेपालमा रहेका विदेशी लगानीका कम्पनीले आर्थिक वर्ष २०७७र७८ मा रु.तीन खर्ब ८१ अर्बको कारोबार गरेको अध्ययनले देखाएको छ। यी कम्पनीहरुले औसतमा १४.७ प्रतिशतको नाफा कमाएका थिए।