स्वास्थ्य मन्त्रालयले भन्यो- डेंगी बढ्दै छ, कार्यालय समयमा पूरा बाउला भएको पोशाक लगाऔं
डेंगीको संक्रमण बढ्दै गएकाले सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सातै प्रदेशमा डेंगीको प्रकोप देखिएको छ। अहिलेसम्म ७५ जिल्लामा आठ हजार २३७ जनामा डेंगी पुष्टि भएको छ।
डेंगीको प्रकोप बढ्दै गएकाले सतर्कता अपनाउनुपर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। “डेंगी रोग लाग्न नदिने सबैभन्दा उत्तम उपाय भनेको लामुखट्टेको टोकाइबाट जोगिनु हो,” डा. अधिकारीले भने।
प्रायः दिनको समयमा अझ बिहान र साँझको समयमा सक्रिय हुने एडिज जातको लामखुट्टेले टोक्दा डेंगी हुने उनले बताए। डेंगीबाट जोगिन कार्यस्थल वरिपरि सफा राख्नुपर्नेमा स्वास्थ्य मन्त्रालयले जोड दिएको छ।
मन्त्रालयले भनेको छ, “कार्यालय समयमा पूरा बाउला भएको पोशाक अनिवार्य लगाउनुहुन नेपाल सरकारका सम्पूर्ण कर्मचारी एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरूमा अनुरोध छ।”