बाङ्लादेशमा यही वर्ष बिजुली बिक्री गर्छौं : ऊर्जा मन्त्री भुसाल
ऊर्जा मन्त्री पम्फा भुसालले नेपाल सरकारले बाङ्लादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छन्।
चितवनमा शनिबार पत्रकारसँग कुराकानी गर्दै मन्त्री भुसालले यसै वर्ष बाङ्लादेशलाई विद्युत् निर्यात गरिने बताइन्। अहिले नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ।
मन्त्री भुसालले भनिन्, “हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौं। अब बाङ्लादेश पनि निर्यात हुँदै छ।”
यस वर्षदेखि बाङ्लादेशमा विद्युत बिक्री हुने उनको भनाइ थियो। “जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको छ र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बाङ्लादेश जान्छ,” भुसालले भनिन्।
ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्कजस्तै रहेको बताइन्।
घरायासी प्रयोजनका लागि मूल्य घटाइएको बताउँदै कृषि र सिँचाईमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिइन्। (रासस)