श्वासप्रश्वास सम्बन्धी रोगबाट मृत्यु हुने सबैभन्दा धेरै नेपालमा
वायु प्रदूषणका कारण श्वासप्रश्वास सम्बन्धी रोगबाट मृत्यु हुनेको संख्या संसारमा सबैभन्दा बढी नेपालमा रहेको एक अध्ययनले देखाएको छ।
अन्तर्राष्ट्रिय जर्नल द बीएमजेमा गत महीना प्रकाशित एक अध्ययनका अनुसार, वायु प्रदूषणले गर्दा हुने श्वासप्रश्वास सम्बन्धी र्दीघ रोग (सीओपीडी) बाट नेपालमा प्रति एक लाखमा १८२ जनाको मृत्यु हुने गरेको छ। अध्ययनका अनुसार श्वासप्रश्वास सम्बन्धी र्दीघरोगबाट मृत्यु हुने यो संख्या विश्वमै सबैभन्दा बढी हो।
त्यस्तै, वायु प्रदूषणका कारण नेपालीको आयु तीनदेखि सात वर्षसम्म कम हुने गरेको पनि अध्ययनले देखाएको छ। अध्ययन अनुसार, काठमाडौं उपत्यकामा बसोबास गर्ने मानिसको आयु तीन वर्ष र तराई क्षेत्रमा बसोबास गर्ने मानिसको सात वर्षसम्म घट्ने गरेको छ।
यस क्रममा सन् १९९० देखि २०१९ सम्म २०८ वटा देशमा अध्ययन गरिएको थियो। जसमा नेपालमा प्रति एक लाख मानिसमध्ये तीन हजार ३१८ जनामा अपाङ्गता देखिएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख मेघनाथ धिमालका अनुसार, नेपालमा श्वासप्रश्वास सम्बन्धी र्दीघरोगबाट धेरै मृत्यु हुनुको मुख्य कारण वायु प्रदूषण र धूमपान हो। सन् २०१९ मै परिषद्ले ‘नेपाल बर्डन अफ डिजिज’ रिपोर्ट सार्वजनिक गरेको थियो। यो अध्ययन अनुसार, नेपालमा १७.७ प्रतिशत मृत्यु धूमपानका कारण हुने गरेको छ।
त्यस्तै, मुटुरोगबाट २४ प्रतिशत र श्वासप्रश्वास सम्बन्धी र्दीघरोगबाट २१.१ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ।
सीओपीडी रोग हुँदा हावा प्रवाहमा अवरोध हुने र श्वास फेर्न समस्या हुन्छ। यसमा क्रोनिक ब्रोंकाइटिस र एम्फिसेमा जस्ता अवस्थाहरू समावेश छन्।
प्रायः सबै सीओपीडी हुने केशहरू वातावरणबाटै हुने गरेको अनुसन्धानकर्ता तथा म्याकगिल विश्वविद्यालयका इपिडिमियोलोजी बायोस्ट्याटिस्टिक एन्ड अकुपेशनल हेल्थ विभागका प्राध्यापक जय कौफम्यानले बताए।
उनले भने, “एशिया जस्ता गरीब राष्ट्रहरूमा सीओपीडी हुनुका कारण धूमपान, वायु प्रदूषण तथा घरभित्र हुने वायु प्रदूषण जस्तैः दाउरा बालेर आगो बाल्ने गरेकाले हो।” त्यस्तै, स्वास्थ्य उपचारको पहुँच नहुनुको कारणले पनि बचाउन सकिने व्यक्तिको मृत्यु भइरहेको कौफम्यानले बताए।
अध्ययन अनुसार, नेपालमा बढ्दो शहरीकरणले यातायात साधनको प्रयोग पनि सन् १९९० मा दुई लाख २४ हजारबाट सन् २०१२ सम्म १३ लाख पुगेको छ।
अनुसन्धानकर्ताहरूका अनुसार, नेपाल वायु प्रदूषकलाई प्रभावकारी रूपमा नियमन गर्न र वायु गुणस्तर नियन्त्रण उपायहरू लागू गर्न असफल भएको छ।
वेलैमा सीओपीडीका बिरामी पत्ता लगाउनु, धूमपान सेवनलाई कम गराउनु तथा घरभित्र हुने प्रदूषणलाई कम गराउनु नै यो समस्याको हल रहेको विज्ञहरूको भनाइ छ। “हामीले सार्वजनिक गरेका तथ्याङ्क तथा अन्तर्राष्ट्रिय तथ्याङ्कहरूलाई सरकारले स्वीकार गरेर समाधानको पहल गर्नु जरुरी भइसकेको छ,” धिमालले भने।