तामाङ पहिचान दिवसको अवसरमा तामाङ ज्ञान महोत्सव
तामाङ पहिचान दिवसको अवसरमा आयोजना गरिने तामाङ ज्ञान महोत्सवको तयारी पूरा भएको छ।
तीन दिनसम्म मनाइने सातौं तामाङ ज्ञान महोत्सवमा तामाङ समाजका ६ जना ज्येष्ठ नागरिकका स्मृति वाचन र तीन वटा विषय छलफल हुने महोत्सव आयोजक समितिका संयोजक निष्णु थिङले जानकारी दिए।
महोत्सव तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालयको संयुक्त आयोजनामा भदौ ४, ५ र ६ गते बौद्धमा हुनेछ। भर्चुअल रूपमा पनि सहभागी हुन सकिने महोत्सवमा ‘सरकारी कामकाजमा तामाङ भाषा’‚ ‘तामाङ लोकसाहित्य: एउटा विमर्श’ र ‘तामाङ मुक्ति आन्दोलनको अबको बाटो’ विषयक कार्यपत्र प्रस्तुत हुने संयोजक थिङले बताए।
तामाङ जातिले भदौ ६ गतेलाई आफ्नो पहिचान दिवसका रूपमा मनाउँदै आएको छ। यसपालि ९०औं पहिचान दिवस हो। जंगवीर तामाङ नेतृत्वको टोलीले तत्कालीन राणा प्रधानमन्त्री भीमशमशेर समक्ष आफूहरूलाई ‘तामाङ’ भनियोस् भनी मागपत्र राखेको र उक्त माग स्वीकार गरी प्रधानमन्त्री राणाले १९८९ भदौ ६ गतेका दिन नेपाल सरहदभित्र विभिन्न नामले बोलाइने जातिलाई तामाङ लेख्न-लेखाउन सनद-पत्र जारी भएकाले सोही दिनलाई पहिचान दिवस मानिएको हो।