हामी बिग्रियौं, हिजोको जस्तो क्रान्तिकारी छैनौं: पुष्पकमल दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरू हिजोको जस्तो क्रान्तिकारी नभएको बताएका छन्।
रामवृक्ष यादवको २८औं स्मृति दिवसको अवसरमा आज काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा दाहालले आफूहरू बिग्रिंदै गएकाले हिजोको जस्तो क्रान्तिकारी नभएको बताएका हुन्।
“हामी अलिकति बिग्रेका छौं,” दाहालले भने, “हामी हिजोको जस्तो क्रान्तिकारी छैनौं। हामी व्यक्तिवादी भएका छौं। आत्मकेन्द्रित भएका छौं। अलिकति स्वार्थी भएका छौं।”
उनले माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरू समाज र राष्ट्रका लागि त्याग गर्ने नभई आफ्नो हितका लागि मात्र लागेको पनि टिप्पणी गरेका छन्। त्यो स्वार्थ पूरा गर्न स्वार्थ समूह बनाउन लागेको दाहालको भनाइ छ।
“हामी क्रान्ति, परिवर्तन, समाज, राष्ट्रका निम्ति प्रतिस्पर्धा गरेर त्याग गर्नेतिर होइन, आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर उद्यत हुन थालेका छौं,” उनले भने, “हामी टीम स्पिरिटबाट जानेभन्दा हामी स्वार्थ समूह बनाउनेतिर, त्यो वैचारिक गुट पनि होइन, उद्यत हुन थालेका छौं। यसले पार्टीको वर्ग चरित्र भनौं वा क्रान्तिकारी स्पिरिटमा नराम्रोसँग स्खलन आएको छ।”
अध्यक्ष दाहालले माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूको व्यवहारमा क्रान्तिकारी छवि नदेखिएको स्विकारेका छन्। “विचार, किताब, दस्तावेज र कुरा गर्दा मुखमा हामी अहिले पनि क्रान्तिकारी नै छौं,” उनले भने, “तर हाम्रो व्यवहार, हाम्रो आचरण, हाम्रो दैनिकी दिनदिनै हामीले के गरिराखेका छौं भन्ने हो भने त्योसँग मिल्दैन। हाम्रो गराइ र भनाइमा कति हो कति ठूलो अन्तर आइसकेको महसूस हुन्छ।”